हेल्थ डेस्कमा कोरोना संक्रमितको संख्या बढ्यो


पर्सा — वीरगन्जस्थित नेपाल-भारत सीमामा सञ्चालित हेल्थ डेस्कमा पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । शनिबारयता यो क्रम झनै बढेको डेस्क प्रमुख डा अनिशा महतोले जानकारी दिइन् ।



महतोका अनुसार डेस्कमा एन्टिजेन परीक्षण गर्दा माघ १ देखि माघ ३ सम्म मात्रै एक सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत शनिबार ३३ जना, आइतबार ३० जना र सोमबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पनि दिउसो साढे ३ बजेसम्म भारतबाट नेपाल भित्रिँदै गरेका २ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ नेपाली नागरिक हुन् । परीक्षण अझै पनि जारी रहेकाले संक्रमण पुष्टि हुनेको संख्या थपिने निश्चित छ ।
डेस्कमा पुस महिनाभरिमा मात्र १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ८ देखि दैनिक १-२ जना संक्रमित पुष्टि हुन थालेकोमा पुस २० यता यो संख्या बढेर १०/११ जनामा संक्रमण देखिन थालेको डा महतो बताउँछिन् ।
उनले डेस्कमा दैनिक कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको प्रभाव बढ्दो क्रममा रहेको पुष्टि गर्ने डा महतो बताउँछिन् ।
‘पछिल्ला केही दिनको नतिजाले भारतमा तीव्र रुपमा कोरोना संक्रमण विस्तार भइसकेको र अब भारतीय महानगरहरू मात्र नभई स-साना सहर तथा छिमेकी राज्य बिहारमै पनि यसको संक्रमण समुदायस्तरमै भइसकेको संकेत गर्छ,’ उनले भने, ‘अब नेपाली नागरिकहरू भारतीय बजारमा अत्यावश्यकबाहेकका सामग्रीहरू किनमेल तथा अन्य प्रयोजनका लागि जाने काम बन्द गर्नुपर्छ ।’
यता नारायणी अस्पतालमा सोमबार ५३ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहका अनुसार ३६ संक्रमितमध्ये २५ पुरुष र ११ महिला छन् । ८ देखि ८० वर्ष उमेर समूहका संक्रमितमध्ये २५ पर्साकै छन् ।
प्रकाशित : माघ ४, २०७८ १६:०९