सीमामा बढ्दै कोरोना संक्रमितको संख्या

शंकर आचार्य

पर्सा — कोरोनाको तेस्रो लहरमा पनि वीरगन्जमा कोरोना संक्रमितको संख्या दैनिक थपिने क्रम रोकिएको छैन । पछिल्लो दुई सातायता वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्कमा गरिने एन्टिजेन परीक्षण र नारायणी अस्पतालमा गरिने पीसीआर परीक्षणको नतिजाले वीरगन्जमा संक्रमण तीव्र रुपमा विस्तार भइरहेको देखाएको छ । 

सीमामा बढ्दै कोरोना संक्रमितको संख्या

सीमास्थित हेल्थ डेस्क प्रमुख डा अनिशा महतोका अनुसार, सोमबार दिउसो १ बजेसम्म २ सय जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिनभरि डेस्कमा ३ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । डेस्कका स्वास्थ्यकर्मीले आइतबार जिल्ला प्रशासन कार्यालयका ३० कर्मचारीको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्ट‍ि भएको थियो ।

शनिबार डेस्कमा ३ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । डेस्कमा पुस महिनामा मात्र १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको डा महतोले जानकारी दिइन् । ‘पुस ८ देखि दैनिक १-२ जनामा संक्रमण पुष्टि हुन थालेको हो,’ उनले भनिन्, ‘तर‚ पुस २० देखि दैनिक १०-११ जना संक्रमित फेला पर्न थाले, पछिल्ला दिनमा यो क्रम झनै बढेको छ ।’

नारायणी अस्पतालमा पुस २९ गते ४७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २६ पर्साका हुन् । पुस ३० गते ६४ जनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये ३४ जना पर्साका हुन् । आइतबार ६२ जनाको पीसीआर परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये २६ जना पर्साकै हुन् ।

अस्पतालका कोभिड संयोजक डा उदय नारायण सिंहका अनुसार अस्पतालमा हाल तीन जना कोरोना संक्रमित उपचाररत छन् । तीमध्ये कसैलाई पनि अक्सिजन दिनु परेको छैन । सबैको अवस्था सामान्य छ । हालसम्म जिल्लामा २ सय सक्रिय कोरोना संक्रमित रहेको र अधिकांश होम आइसोलेसनमै रहेको उनले बताए ।

अघिल्ला लहरहरूजस्तो तेस्रो लहरमा अस्पतालमा भर्ना हुने संक्रमितको संख्या न्यून रहे पनि संक्रमणदर भने उच्च रहेको डा. सिंह बताउँछन् । आउँदा केही दिन संक्रमणदर अझै बढ्दै जाने सम्भावना रहेकाले सर्वसाधारणले सावधानी अपनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : माघ ३, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?