कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुख्य नाकामै जनशक्ति अभाव

बिहान ७ देखि १२ बजेसम्म २ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पोजिटिभ
भूषण यादव

वीरगन्ज — कोरोना परीक्षणका लागि मुख्य नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको अभाव देखिएको छ । जनशक्ति अभावमा मध्याह्न दुईदेखि तीन घण्टा भारतबाट नेपाल भित्रिने प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण प्रभावित हुने गरेको पाइएको हो । 

मुख्य नाकामै जनशक्ति अभाव

आइतबार मध्याह्न १ बजेको समयमा वीरगन्ज–रक्सौल नाका पुग्दा नेपाल भित्रिने कसैको पनि एन्टिजेन परीक्षण गरिएको थिएन । भारतको रक्सौल हुँदै निर्बाध रूपले यात्रु वीरगन्ज भित्रिरहेका थिए । करिब एक घण्टा मुख्य नाकामा हुँदा एक जना यात्रुको पनि परीक्षण भएको देखिएन् । त्यस अवधिमा करिब एक दर्जन निजी भारतीय गाडी रिजर्ब गरेर भारतीयहरू वीरगन्ज भित्रिएका थिए । यसको अलावा दर्जनौं टेम्पो, इरिक्सा, टाँगालगायत सवारीसाधनमा यात्रुहरू भारतबाट वीरगन्ज भित्रिएका थिए ।

नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले यात्रुले बोकेका सामान मात्र चेकजाँच गरेका थिए । नेपाल भित्रिनेलाई रोकेर किन हेल्थ डेस्कमा परीक्षण गर्न नपठाएको प्रश्नमा एक सुरक्षाकर्मीले भने, ‘अहिले सिफ्ट चेन्ज भएको समय हो, दैनिक यो समयमा एन्टीजेन परीक्षण हुँदैन ।’

सुरक्षाकर्मीका अनुसार यसरी सिफ्ट परिवर्तन हुँदा दैनिक कम्तीमा २ घण्टा परीक्षण प्रभावित हुने गरेको छ । २ बजेको समयमा हेल्थ डेस्कमा पुग्दा दुई जना स्वास्थ्यकर्मी रजिस्टरमा केही लेखिरहेका थिए । ‘बिहान ७ बजेदेखि १२ बजेसम्म गरिएको परीक्षणको विवरण विभागमा अनलाइन इन्ट्री गर्नुपर्छ,’ हेल्थ डेस्कमा कार्यरत एचए ओमप्रकाशकुमार साहले भने, ‘इन्ट्रीको काम सकेपछि एन्टिजेन परीक्षण गर्छौं । साहका अनुसार विभागको अनलाइन एपमा एक जनाको विवरण इन्ट्री गर्न कम्तीमा ५ मिनेट लाग्ने गरेको छ ।’

बिहान ७ बजेदेखि १२ बजेसम्म २ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पोजिटिभ देखिएको उनले जनाए । जसमध्ये १० जना संक्रमित भारतीय र दुई जना नेपाली थिए । यसैगरी नाकामा शनिबार फेला परेका १७ संक्रमितमध्ये १३ जना भारतीय थिए । शुक्रबार १८ जनामा संक्रमण देखिएको थियो । पछिल्लो समय भारतको विभिन्न राज्यमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलिएको छ । संक्रमण फैलिन नदिन भारतमा कडाइ थालिएको छ ।

खुला सीमाका कारण नेपाल र भारतबीच निर्बाध आवतजावत हुने गरेको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि नाकामै परीक्षण गरी संक्रमितलाई आइसोलेसनमा राख्ने उद्देश्यले हेल्थ डेस्क स्थापना भएको हो । जनशक्ति अभावमा नाकामा एन्टीजेन परीक्षणमा लापरबाही देखिएको छ । ‘जिल्ला प्रशासन कार्यालय पर्सामा एन्टिजेन परीक्षण गर्न जानुपरेकाले केही स्वास्थ्यकर्मी उता जानुभएको छ,’ साहले भने, ‘उहाँहरू आउनेबित्तिकै परीक्षण सुरु हुन्छ ।’

व्यस्त नाकामा सीमित जनशक्तिले सबैको परीक्षण सम्भव नरहेको उनले सुनाए । हेल्थ डेस्कमा १२ जना स्वास्थ्यकर्मी खटाइएका छन् । ‘६/६ जनाको समूहमा दुई सिफ्टमा काम गर्छौं,’ साहले भने, ‘जसमध्ये दुई जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन् ।’ फितलो व्यवस्थापनका कारण काम गर्न समस्या परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । ‘घरबाट एकैचोटि खाना खाएर आउँछौँ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘यहाँ न त पानीको व्यवस्था छ न त नास्ताकै । पुस माघको चिसोमा खुला टेन्टभित्र काम गर्नुपर्ने बाध्यता छ ।’ अहिलेसम्म जोखिम भत्तासमेत पाएको छैन ।

सुरुसुरुमा गैरसरकारी संस्थाले केही सहयोग जुटाए पनि हाल उनीहरू पनि हेल्थ डेस्कमा नआएको उनले सुनाए । हेल्थ डेस्क प्रमुख डा.अनिसा महतोले फितलो व्यवस्थापन रहेको बताइन् । ‘नेपाल भित्रिने नाकामा संक्रमितको संख्या बढ्दो छ,’ उनले भनिन्, ‘वीरगन्ज नाका ठूलो छ, सबैको परीक्षण गर्न सकिएको छैन ।’ नाकामा हाल दैनिक करिब ५ सय जनाको एन्टिजेन परीक्षण हुँदै आएको छ । ‘परीक्षण गरिएको विवरण अनलाइन इन्ट्री नगरुन्जेल नाकामा काम नै नभएको देखिन्छ,’ उनले भनिन्, ‘डाटा इन्ट्रीका लागि एक जना कम्प्युटर अपरेटर भइदिएको भए हामी टेस्टिङ मात्र गर्थ्यौं ।’

नाकामा तैनाथ सुरक्षाकर्मीका अनुसार दैनिक करिब दुई हजार जना रक्सौल हुँदै वीरगन्जतर्फ आउने गरेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पुस २७ को बैठकले भारतबाट नेपाल भित्रिने प्रवेश बिन्दुमा अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्ने र कोरोना पोजिटिभ देखिएमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गराउने गरी सुरक्षित साथ गन्तव्य स्थानमा पुग्न सहजीकरण गर्ने निर्णय गरेको थियो ।

वीरगन्ज बाहिरका व्यक्ति नाकामा पोजिटिभ फेला पर्दा उनीहरूलाई गन्तव्यसम्म पुगाउन समस्या देखिएको डा.अनिसाले बताइन् । ‘वीरगन्ज आसपासका संक्रमित फेला पर्दा समन्वय गरी पठाउँदै आएका छौँ,’ उनले भनिन्, ‘तर, बाहिरका सबैले निजी गाडी भाडा गरेर जान सक्दैनन्, उनीहरूलाई कसरी गन्तव्यसम्म पुगाउनबारे कुनै निर्देशन आएको छैन् ।’

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकामा सञ्चालन रहेको हेल्थ डेस्कमा जनशक्ति थप गर्ने निर्णय भइसकेको बताए । ‘हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने निर्णय भएको छ,’ कान्तिपुरसँग ढकालले भने, ‘नाकामा निरन्तर परीक्षण आवश्यक छ ।’

प्रकाशित : माघ ३, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?