स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता- मधेस - कान्तिपुर समाचार

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

सन्तोष सिंह

धनुषा — स्थानीय तहबाट सञ्चालित कोभिड अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दुई वर्षसम्म जोखिम भत्ता पाउन सकेका छैनन् । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला आइसोलेन र कोभिड अस्पतालमा काम गरेका उनीहरूले हालसम्म जोखिम भत्ता नपाएका हुन् । 

महोत्तरीको गौशाला नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन र कोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई नगरले जोखिम भत्ता नदिएको गुनासो गरे । आइसोलेसन र कोभिड अस्पताल सञ्चालन गर्न नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उपचारमा खटिएका जनशक्तिलाई तलबको ५० प्रतिशत थप दिने निर्णय गरेको थियो । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा अग्रपंक्तिमा खटिएकाहरूलाई २० प्रतिशत भत्ता दिने निर्णय गरिएको थियो ।

स्वास्थ्यकर्मीको भत्ता उपलब्ध गराउन पटकपटक निर्णय भए पनि प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले भत्ता दिन नमानेको एक स्वास्थ्यकर्मीले बताए । ‘भता माग्न नगरपालिका जाँदा वास्ता नै गर्दैनन्,’ ती स्वास्थ्यकर्मीले भने, ‘भत्ता उपलब्ध गराउने पटकपटक निर्णय भयो । तर कार्यान्वयन भएको छैन । हाकिम र केही जनप्रतिनिधिले स्वास्थ्यकर्मीको भत्तामा कमिसनको अपेक्षा गरेका छन् । खुलेर कुरा गर्नै मान्दैनन् ।’ नगरपालिकामा भत्ता माग्न जाँदा प्रशासकीय अधिकृत र जनप्रतिनिधिले बढी कुरा गरे सरुवा गरिदिने धम्की दिने गरेको ती स्वास्थ्यकर्मीको आरोप छ ।

प्रशासकीय अधिकृत थापाले स्वास्थ्यकर्मीको भत्ता रोकिएकोबारे आफूलाई जानकारी नभएको बताए । स्वास्थ्य शाखासँग सम्बन्धित विषय भएकाले आफूलाई कोभिड अस्पताल र आइसोलेसनमा खटनपटनबारे थाहा नभएको उनको भनाइ छ । शिक्षा समूहमा कार्यरत थापा ४ वर्षदेखि गौशाला नगरपालिकामा प्रशासकीय अधिकृत छन् । भत्ता नपाउँदा मनोबल खस्किएको एक स्वास्थ्यकर्मीले बताए । ‘संक्रमितको उपचारका लागि ज्यान जोखिममा राखेर खटियौं, तर निर्णय भएको भत्ता पनि पाएनौं,’ उनले भने, ‘सबै स्वास्थ्यकर्मीको मनोबल घटेको छ, अब फेरि संक्रमण फैलिएमा कुन उत्साहले काम गर्ने ?’

महोत्तरीको सम्सी नाकाबाट दिनहुँ सयौंको संख्यामा भारत आउजाउ भइरहेको छ । तर, गौशालासहित आसपासको स्थानीय तहमा कोभिड अस्पतालको भने तयारी छैन । प्रदेश २ मा कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएको छ । कोभिड अस्पताल, आइसोलेसन, पीसीआर, एन्टिजेन परीक्षण, सिमानामा हेल्थ डेस्क स्थापना र कोभिड खोप केन्द्र व्यवस्थापन तथा सञ्चलनका लागि स्थानीय तहलाई जिम्मेवारी तोकिएको हो । तर, स्थानीय तहमा कोभिड रोकथाम तथा नियन्त्रणको तयारी नै छैन । जिल्ला स्वास्थ्य कार्यालयमार्फत उपलब्ध भएको खोप सञ्चालनमा स्थानीय तह सीमित छ ।

प्रकाशित : माघ २, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा बैठक 'विशेष कारणवश' अनिश्चित समयका लागि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । 

संघीय संसद् भवन नयाँबानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागी सांसद । तस्बिर : रासस

संघीय संसद्का महासचिव भरतराज गौतमले 'विशेष कारणवश' स्थगित गरिएको जानकारी दिएका छन् । 'माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको' सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि 'विशेष कारणवश' बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।

प्रकाशित : माघ २, २०७८ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×