युरिया मल अभाव, उत्पादन घट्ने चिन्ता

शंकर आचार्य

पर्सा — गहुँमा युरिया मल छर्न ढिलाइ भई सक्दा पनि किसानले सहजै पाउन सकेका छैनन् । गहुँ बालीका लागि चर्को माग रहेको बेला युरिया मल पाउन किसानलाई सकस छ । दुई सातायता पटकपटक हिउँदे वर्षा भए पछि किसानलाई हाल युरिया मलको खाँचो परेको छ ।

युरिया मल अभाव, उत्पादन घट्ने चिन्ता

किसान संघ पर्साका अध्यक्ष असर्फी साहले विगतजस्तो चरम अभाव नरहे पनि किसानले चाहिए जति युरिया मल भने नपाएको गुनासो गरे । ‘हिउँदे वर्षा भएपछि गहुँलाई फाइदा पुगेको छ । यतिबेला युरिया मल छर्न पाए बाली सप्रिन्थ्यो,’ उनले भने, ‘तर सहज रूपमा आवश्यक भए जति युरिया मल पाइएको छैन ।’

थोरै मल पाउँदा बालीमा कम छर्नुपरेको र कतिपय किसानले अझै पनि मल नपाएको उनले बताए । बालीलाई आवश्यक रहेको मल छर्न नपाए गहुँको उत्पादन नै घट्ने जोखिम रहेको उनले बताए । ‘युरिया मल छर्ने उपयुक्त समय अहिले नै हो,’ उनले भने, ‘पछि मल पाए पनि काम लाग्दैन । अहिले आवश्यक रहेको बेला हामीलाई सहज रूपमा मल उपलब्ध हुन पर्‍यो ।’

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जमा पनि मलको मौज्दात कम छ । कार्यालय प्रमुख गोरखनाथ केसी बिहीबारसम्म कार्यालयमा २ सय ८० टन मात्र युरिया मलको मौज्दात रहेको जानकारी दिए । ‘प्रदेशका ८ जिल्लासहित डेढ दर्जन जिल्ला हाम्रो कार्यक्षेत्रभित्र पर्छ । तर पर्सा जिल्लालाई मात्र पुग्ने मल हामीले मुस्किलले बचाएका छौं,’ उनले भने, ‘जिल्लाका १ सय ४० सहकारीमध्ये २० सहकारीले अझै युरिया मल लग्न बाँकी छ । कृषि ज्ञान केन्द्रले तोकेको कोटाअनुसार हामीले जिल्लाका सहकारीहरूलाई युरिया मल वितरण गरिरहेका छौं ।’

हाल उपलब्ध युरिया मलको मौज्दातले माघको पहिलो सातासम्म मात्र जिल्लाको युरिया मलको माग धान्ने उनले बताए । मातहतका अन्य जिल्ला कार्यालयमा मल पठाउने अवस्था नरहेको उनले बताए । युरियाबाहेक हाल कार्यालयसंग १४ टन डीएपी मलको मौज्दात रहेको उनले बताए । किसानलाई गहुँका लागि अब डीएपी मलको आवश्यकता छैन ।

सुर्ती र उखु बालीका लागि डीएपी मल आवश्यक पर्ने भएकाले यति मौज्दातले भरथेग गर्ने उनले बताए । कार्यालयसँग पोटासको मौज्दात भने शून्य रहेको उनले सुनाए । कम्पनीको युरिया मल आयात हुने कुनै तालिका नरहेको पनि केसीको भनाइ छ ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?