गण्डक नहरको सर्भिस सडक जीर्ण- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डक नहरको सर्भिस सडक जीर्ण

कान्तिपुर संवाददाता

पर्सा — गण्डक नहरको सर्भिस सडकअन्तर्गतको महुवन–जगरनाथपुर खण्ड लामो समयदेखि जीर्ण छ । वीरगन्ज महानगरपालिका वडा नं २५ मा केही र बहदुरमाई नगरपालिकामा अधिकांश हिस्सा पर्ने नहरको करिब ५ किमि सडक खण्ड जीर्ण भएको हो । जीर्ण सडकले त्यस भेगका बासिन्दालाई आवागमनमा समस्या भएको छ । 

महुवन निवासी प्रमोद यादव झन्डै ३ वर्षदेखि उक्त सडक खण्ड जीर्ण भए पनि मर्मतसम्भार नभएको बताउँछन् । ‘घाम लाग्दा खाल्डाखुल्डी र धुलोले बाटोमा सास्ती हुन्छ,’ उनले भने, ‘पानी पर्दा पानी जमेर सडक हिलाम्मे र चिप्लो हुन्छ । लामो समयदेखि मर्मत गरिएको छैन ।’ जिल्लाको उत्तरी भेगका बासिन्दाका लागि यो सडक अत्यावश्यक मानिन्छ ।

वीरगन्ज–पोखरिया सडक खण्ड पछि जिल्लाकै दोस्रो व्यस्त सडकको हो यो । वीरगन्जबाट सोझै जगरनाथपुर हुँदै ठोरीसम्म पुग्न सकिने यो सडक वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो समय यो सडक खण्डमा माटो र ग्राभेल बोक्ने टिपर, मलखाद बोक्ने ट्र्याक्टर अत्यधिक गुड्ने गरेकाले समेत बाटो झनै जीर्ण भएको छ । गण्डक नहर र त्यसको सर्भिस सडकको संरक्षण गर्दै आएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाले ३ वर्षयता कार्यालयले सडकको मर्मत सम्भार नगरेको बताए ।

‘३ वर्षअघि सडक विभागले रौतहटदेखि पर्सासम्म नहरको सर्भिस सडकमा पक्की सडक बनाउन सुरु गरेको थियो,’ उनले भने, ‘त्यसपछि हामीले सर्भिस रोडको मर्मतसम्भार पाटो छोडेर केवल नहरतर्फ ध्यान केन्द्रित गरेका छौं ।’

प्रकाशित : पुस ३०, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

आफूलाई अब्बल बनाउँदै पूर्वकम्लरी

पहिले बँधुवा मजदुर भएकाहरु अहिले उच्च शिक्षामा छन् भने कोहीले विभिन्न सामाजिक संस्थाको नेतृत्वमा रहेर उदाहरणीय काम गर्दै छन्
दुर्गालाल केसी

दाङ — कुनै बेला कम्लरी भएर अर्काको घरमा काम गर्ने शान्ति चौधरी अहिले मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय अध्यक्ष छिन् । पश्चिम तराईका विभिन्न जिल्लामा हुने महत्त्वपूर्ण बैठक र कार्यक्रममा सहभागी हुन्छिन् र कम्लरीका विषयमा आफ्ना कुरा राख्छिन् । उनी अहिले १२ हजारभन्दा बढी मुक्त कमलरीको नेता बनेकी छन् । उनी अहिले कम्लरी होइन, अरूका लागि प्रेरणाकी स्रोत बनेकी छन् । 

पाँच वर्ष कम्लरी बसेकी कञ्चनपुरकी शान्तिले जिल्ला सचिव हुँदै दुई वर्षदेखि केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । उनलाई अहिले सबै बालिकाले प्रेरणाको स्रोतका रूपमा लिएका छन् । उनी घोराहीस्थित मञ्चको केन्द्रीय कार्यालयमा बसेर पश्चिम तराईका पाँच जिल्लामा भइरहेका कम्लरी मुक्तिका हरेक गतिविधिको योजना बनाउँछिन् र अरूलाई त्यहीअनुसार परिचालन गर्छिन् ।

पहिले हरेक माघीमा कम्लरी राख्ने र पुरानो ठाउँमा नवीकरण गर्ने विषयमा छलफल हुन्थ्यो । थारू बालिकाहरूका लागि भने यो दासताको पर्व थियो । कम्लरी मुक्ति आन्दोलनको उपलब्धिस्वरूप सरकारले २०७० असार १३ गते देशलाई कम्लरीमुक्त घोषणा गर्‍यो । त्यसपछि खुलमखुला कम्लरी राख्ने चलनको अन्त्य भएको छ ।

अहिलेसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १२ हजार ८ सय ५० कम्लरी मुक्त भएको मञ्चकी केन्द्रीय सचिव निर्मला चौधरीले बताइन् । तीमध्ये १ हजार ५ सय ३३ जना विभिन्न तहमा अध्ययनरत छन् । ‘१० जना त स्नातकोत्तर पढिरहेका छन् । तिनीहरू अरूका लागि हौसला र प्रेरणा बनेका छन्,’ उनले भनिन्, ‘कुनै बेला अरूको घरमा बँधुवा मजदुर भएका बालिकाहरू अहिले उच्च शिक्षामा छन् । छोरीहरूले अवसर पाए भने समाजको अगुवाइ गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् ।’

निर्मला पनि कम्लरी थिइन् । मञ्चको नेतृत्वदायी पदमा रहेर उनले समाजलाई राम्रो जवाफ दिएकी छन् । कम्लरीको पुनःस्थापना, बसोबास, शिक्षा र रोजगारीका विषयमा नियमित आवाज उठाउँछिन् । कम्लरीलाई परिचयपत्र पाउन पनि कठिन भइरहेको विषयमा सरोकारवाला निकायलाई झकझक्याइरहन्छिन् । अहिलेसम्म २ हजार ९ सय ४२ जनाले मात्रै सरकारी परिचयपत्र पाएको उनले बताइन् । ‘अरूले पनि पाउनुपर्छ,’ उनले भनिन्, ‘हामी सबै मुक्त कम्लरीलाई परिचयपत्र दिएर मुक्त कम्लरीबापतको सुविधा दिनुपर्छ भनेर आवाज उठाइरहेका छौं ।’

कम्लरी जीवनबाट मुक्त भएपछि हरेक बालिकाको भविष्य सुरक्षित भएको छ । घरबास र अभिभावकविहीन १ सय ९२ बालिका छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । कम्लरी मुक्त भएपछि अधिकांश बालिका सहकारीमा आबद्ध भएर विभिन्न आर्थिक गतिविधि सञ्चालन गरिरहेका छन् । हाल पश्चिम तराईका पाँच जिल्लामा मुक्त कम्लरीका ४२ सहकारी रहेको र त्यसमा १० करोड ३७ लाख ५४ हजार रुपैयाँको कोष रहेको मञ्चकी केन्द्रीय कोषाध्यक्ष विष्णु चौधरीले बताइन् । सहकारीमा मुक्त कमलरी र उनीहरूका परिवारसहित १३ हजार १ सय ३७ सदस्य आबद्ध छन् ।

कुनै बेला आर्थिक अभावकै कारण अरूको घरमा कम्लरी बस्न बाध्य बालिका अहिले आफैं विभिन्न आर्थिक गतिविधि सञ्चालन गरेर सहकारीमा बचत गर्न सक्ने भएको मञ्चकी संस्थापक केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताइन् । उनले नै सुरुमा मञ्च र सहकारीको नेतृत्व गरेकी थिइन् । ‘सुरुमा कम्लरीलाई विश्वास गर्न नसक्नेहरू अहिले अचम्म मानिरहेका छन् । हामीले लामो संघर्ष र परिश्रमबाट आफूलाई समाजमा स्थापित गरेका छौं । अब कसैले पनि कम्लरीका रूपमा हेर्न सक्दैन,’ उनले भनिन्, ‘समाजका महत्त्वपूर्ण व्यक्तिका रूपमा पहिचान बनाउन सफल छौं ।’ अहिले अभिभावकसमेत छोरीलाई काममा भन्दा विद्यालय पठाउन प्रेरित भइरहेको उनले बताइन् ।

मुक्त कम्लरीले समाजमा अरूलाई शिक्षा दिने खालका धेरै उदाहरणीय काम गरिरहेको घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । ‘अब हिजोजस्तो थारू समुदायका बालिकालाई कम्लरी ठान्ने अवस्था छैन । मुक्त बालिकाले धेरै नमुना काम गरिसकेका छन्,’ उनले भनिन्, ‘यसबाट अरू अभिभावक र बालिकाले सिक्न आवश्यक छ । अवसर पाए समाजमा आफूलाई स्थापित गर्न छोरीहरू सक्षम छन् भन्ने उदाहरण मुक्त कम्लरी बनेका छन् ।’

प्रकाशित : पुस ३०, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×