२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तेस्रो लहरमा पनि वीरगन्ज ‘हटस्पट’ उन्मुख

शंकर आचार्य

पर्सा — कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको वीरगन्ज तेस्रो लहरमा पनि हटस्पट उन्मुख छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार ९५ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भयो । ११ देखि ८० वर्ष उमेर समूहका संक्रमितमध्ये काठमाडौं, ललितपुर र मोरङका १/१ तथा बाराका ३ छन् । बाँकी सबै पर्साका हुन् ।

तेस्रो लहरमा पनि वीरगन्ज ‘हटस्पट’ उन्मुख

यसअघि सोमबार अस्पतालमा ५८ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ देखि ७४ वर्ष उमेर समूहका ती संक्रमितमध्ये १९ जना पर्साका थिए ।

उता वीरगन्जस्थित नेपाल भारत सीमा नाकामा रहेको हेल्थ डेस्कबाट दैनिक आइरहेको परिणाम पनि नकारात्मक नै छ । डेस्कमा बिहीबार मध्यान्ह १२ बजेसम्म २ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६ नेपाली र ९ भारतीय नागरिक छन् । डेस्कमा एन्टिजेन परीक्षण जारी नै छ ।

बुधबार कूल ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ७ भारतीय र ११ नेपाली थिए । डेस्ककी प्रमुख डा. अनिशा महतोका अनुसार एक साता यता डेस्कमा संक्रमण पुष्टि हुनेमा भारतीयको तुलनामा नेपाली बढी हुन थालेको र तीमध्ये पनि अधिकांश वीरगन्जकै हुने गरेका छन् । संक्रमित भारतीयहरु पनि सीमावर्ती भारतीय सहर रक्सौल र आसपासका बढी हुने गरेका छन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह साता यताको अवस्था हेर्दा समुदायमा तीव्र रुपमा कोरोना संक्रमण विस्तार भइरहेको र त्यसमा पनि वीरगन्जमा झनै बढी रहेको अनुमान गर्न सकिने बताउँछन् । नारायणी अस्पतालका चिकित्सक डा. सरोज रोशन दासले अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना हुने दर अझै पनि न्युन नै रहेको बताए । मंगलबार २ जना संक्रमित भर्ना भएको र उनीहरुलाई अक्सिजन दिएर उपचार भइरहेको बताए ।

प्रकाशित : पुस २९, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?