वीरगन्ज नाकामा १३ जनामा कोरोना संक्रमण पुष्टि  - मधेस - कान्तिपुर समाचार

वीरगन्ज नाकामा १३ जनामा कोरोना संक्रमण पुष्टि  

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकामा सोमबार पनि १३ जना कोरोना संक्रमित भेटिएका छन् । नाकास्थित हेल्थ डेस्कमा साँझ सवा ४ बजेसम्म ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको डेस्ककी प्रमुख डा. अनिशा महतोले जानकारी दिइन् ।

‘परीक्षण अझै पनि जारी छ,’ उनले भनिन्, ‘साँझ ४ बजे सम्म १३ जनामा संक्रमण पुष्टि भइसक्यो, आइतबार पनि १२ जनामा संक्रमण पुष्टि भएको थियो ।’

सोमबार पुष्टि भएका १३ मध्ये ८ भारतीय र ५ नेपाली छन् । नेपालीमध्ये १ जना दिल्लीबाट फर्किएका बारा सिमराका र १ जना चितवनका हुन् । ३ जना वीरगन्जका हुन् । तीमध्ये १ आफै डेस्कमा परीक्षण गराउन आएका थिए । २ जना भने भारतबाट फर्किएकाहरु थिए ।

भारतीयमध्ये अधिकांश सीमावर्ती भारतीय सहर तथा गाउँका तथा नारायणघाट क्षेत्रमा मजदुरी गर्न जादै गरेकाहरु थिए । संक्रमितहरु अब सीमावर्ती भारतीय सहर र वीरगन्जकै फेला पर्न थालेकाले दुवै सहरमा समुदायमै स्तरमै कोरोना संक्रमण विस्तार भइसकेको हुन सक्न डा. महतोले बताइन् ।

प्रकाशित : पुस २६, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको भेला रोक्ने गृह मन्त्रालयको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । 

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । 'सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने,' गृह मन्त्रालयको निर्णयमा भनिएको छ,'जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।'

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ । कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार उक्त निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ ।

प्रकाशित : पुस २६, २०७८ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×