महोत्तरीमा गाँजासहित ४ जना पक्राउ- मधेस - कान्तिपुर समाचार

महोत्तरीमा गाँजासहित ४ जना पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका ४ स्थित रजखोरबाट ८ किलो गाँजासहित ४ व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार रजखोरका ७० वर्षका रामचन्द्र साहको घरबाट बिक्रीको लागि राखिएको ३ किलो गाँजासहित साह र उनका २१ वर्षका नाति रोहित पक्राउ परेका हुन् ।

त्यस्तै गौशलाकै रजखोरबाट ५३ वर्षका उपेन्द्र साहको घरबाट तयारी अवस्थाको ५ किलो गाँजासहित उपेन्द्र र उनका छोरा १९ वर्षका विवेक साहलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनले रामचन्द्रको घरबाट डिजिटल तराजु एक थान, ११ सय नेपाली रुपैयाँ र उपेन्द्रको घरबाट एक थान डिजिटल तराजुसहित ६ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको जनाए ।

पक्राउ परेकालाई जिल्ला अदालत महोत्तरीबाट लागूऔषध गाँजा मुद्दामा ५ दिन म्याद थपी अनुसन्धान अघि बढाइएको डिएसपी विष्टले जानकारी दिए ।

प्रकाशित : पुस २२, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्ता व्यक्ति पोखरीमा मृत भेटिए

सुनिता बराल

महोत्तरी — महोत्तरीमा पुस १८ गते घरबाट हराएका एक व्यक्ति पोखरीमा मृत भेटिएका छन् । एकडारा गाउँपालिका २ बस्ने ५४ वर्षीय विजय कुमार यादव मृत भेटिएका हुन् ।

यादव घरबाट हराएको सूचना परिवारले प्रहरीलाई दिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा एकडारा २ मै रहेको कुटी पोखरीको छेउमा स्थानीयले मृतकको चप्पल भेटेको सूचना दिएपछि उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी कटिकटैयाको प्रहरी टोलीले पोखरीमा पसेर खोजी गर्दा उनलाई मृत भेटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकास विष्टले जनाकारी दिए ।

घटना के कसरी भयो भन्ने सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतक यादवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको विष्टले बताए ।

प्रकाशित : पुस २०, २०७८ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×