कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

वर्षाले काँचो इँटामा क्षति

घाम राम्रोसँग नलाग्दा नोक्सानी हुनबाट जोगिएको इँटा पनि सुक्न पाएनन्
शिव पुरी

रौतहट — गत साता परेको बेमौसमी वर्षाले रौतहटका विभिन्न स्थानका इँटाभट्टामा काँचो इँटा नष्ट गरेको छ । म्यानमा पोल्न खेतभरि सुकाएर राखिएको इँटा पानीले गलेको हो । धेरैजसो व्यवसायीले पानी पर्ने अनुमान गर्न नसकेकाले काँचो इँटा जोगाउनै सकेनन् । केहीले प्लास्टिकले छोपेर जोगाएका छन् ।

वर्षाले काँचो इँटामा क्षति

वर्षाले चन्द्रपुर नगरपालिका–१० स्थित बक्तौरामा रहेको आफ्नो केटीएम इँटा उद्योगमा १५ लाख रुपैयाँभन्दा बढीको काँचो इँटा गलेर कामै नलाग्ने भएको सञ्चालक शेख मन्जारुलले बताए । म्यानमा पकाउन तयार पारेको १० लाखवटा इँटा बिग्रिएको उनको भनाइ छ । डुमरियामा रहेको आरबीए इँटा उद्योगमा १२ लाख मूल्यबराबरको इँटा गलेर नोक्सान भएको सञ्चालक भोला आलमले बताए ।

रौतहट इँटा व्यवसायी संघका अनुसार जिल्लाभरि १ सय ६२ वटा इँटा उद्योग छन् । तीमध्ये १ सय १५ वटा नियमित सञ्चालनमा छन् । वर्षाका कारण काँचो इँटा नष्ट हुँदा व्यवसायीहरूले ७ करोडभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको संघका सचिव मोहन साहले बताए ।

‘गएको वर्षाका बेला भट्टा नै डुबानमा परेर नोक्सानी व्यहोर्नुपरेको पीडा कम हुन नपाउँदै यसपटक बेमौसमी वर्षाले थप समस्यामा पारेको छ,’ साहले भने, ‘वर्षापछि लगातार शीतलहर चलिरहेको छ । यसले झनै काँचो इँटा सुक्न पाएको छैन ।’ जिल्लामा शुक्रबारदेखि राम्रोसँग घाम लागेको छैन, जसका कारण नोक्सानी हुनबाट जोगिएको काँचो इँटा पनि सुक्न नपाएको साहले बताए ।

सचिव साहले क्षति पुगेका व्यवसायीलाई करलगायतका विषयमा सरकारले छुट दिनुपर्ने माग गरे । ‘सहुलियत दिइएन भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउँछ,’ उनले भने । व्यवसायीले काँचो इँटाको बिमा गर्न खोजे पनि बिमा कम्पनीले मानेका छैनन् ।

सिजनमा काँचो इँटा जोगाउनै मुस्किल भएको व्यवसायीको गुनासो छ । झन्डै ११ वर्षदेखि यही व्यवसाय गर्दै आएका गुजरा नगरपालिकाका इँटा व्यवसायी पवन गिरीले १५ लाखभन्दा बढीको काँचो इँटा पानीले गलेर नष्ट भएको सुनाए ।

‘प्रकृतिले कतिसम्म सताउँछ भन्ने ४ वर्षदेखि भोग्दै आएको छु,’ उनले भने, ‘कहिले शीतलहर चलेर इँटा सुक्नै पाउँदैनन् । कहिले वर्षाको समयअगावै पानी परेर सबै नष्ट हुन्छ ।’ उनले सहकारीबाट ६० लाख रुपैयाँ ऋण लिएर भट्टी सञ्चालन गरेका हुन् ।

गएको वर्ष पनि जिल्लाभरिका व्यवसायीको करोडौं रुपैयाँको इँटा गलेर नष्ट भएको संघले जनायो । पटक/पटक हुने नोक्सानीबाट पीडित व्यवसायीलाई राज्यले करलगायतमा छुटसहित राहत दिनुपर्ने संघले माग गरेको छ । बर्सेनि असिना पानीबाट ठूलो क्षति भोग्नुपरेको भन्दै इँटा व्यवसायीले केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित : पुस २२, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?