महोत्तरीमा जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला- मधेस - कान्तिपुर समाचार

महोत्तरीमा जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

सुनिता बराल

महोत्तरी — सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको गौशला नगारपालिका ११ मा जेष्ठ नागरिकले ताला लगाएका छन् । 

भत्ता माग्दै जेष्ठ नागरिकले मंगलबार वडा कार्यालयमा ताला लगाएका हुन् । जेष्ठ नागरिक र एकल महिलाले गत साउनदेखि भत्ता नपाएको बताएका छन् । ३/३ महिनामा पाउनुपर्ने भत्ता ६ महिनासम्म नपाएको ७८ वर्षीय रामनारायाण महतोले बताए । भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे । वडा कार्यालयमा तालाबन्दी गरेर ५० जनाभन्दा बढी जेष्ठ नागरिकले नाराबाजी गरेका छन् ।

कार्यवहाक अध्यक्ष रामगुलाम महतोले भत्ता निकासीका लागि नेपाल बैंक गौशाला शाखा र नगरपालिकासँग समन्वय गरिरहे पनि बैंकले भत्ता उपलब्ध नगराएको बताए । उनले भने, 'नगरले बैंकमा गइसकेको छ भन्ने र बैंकले हुँदैछ, दिन्छौं भनेर टारिरहेको छ ।'

सबै वडाको भत्ता नगरबाट पठाइसकिएको तर केही वडाको वितरणमा समस्या आएकोले बैंक खातामा समस्या भएकाले हुनसक्ने गौशाला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापाले बताए । सिस्टमबाट बैंक खातामा रकम जाने भएकाले कुनैमा समस्या भएको हुन सक्ने उनको भनाइ छ । थापाले चाँडै भत्ता वितरण हुने पनि आश्वासन दिए ।

प्रकाशित : पुस २०, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

पाठेघर संक्रमण हुने धेरै

८२६ महिलाको जाँच गर्दा ३८ जनाको पाठेघरमा क्यान्सर, ३४६ मा संक्रमण
सुनिता बराल

महोत्तरी — बर्दिवासमा दुई दिनसम्म सञ्चालन भएको प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरमा जाँच गर्ने अधिकांश महिलाको पाठेघरमा संक्रमण भएको पाइएको छ । पुस १२ र १३ मा सञ्चालन भएको शिविरमा ८ सय २६ महिलाले आफ्नो पाठेघरको जाँच गराएका थिए ।

जसमध्ये ३ सय ४६ जनाको पाठेघरमा संक्रमण देखिएको र ३८ महिलाको पाठेघरमा क्यान्सर भएको पहिचान भएको डा. रितु लामिछानेले बताइन् ।

शिविरमा प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र वाग्मती प्रदेशको सिन्धुलीबाट समेत महिलाहरू पाठेघरको जाँच गराउन आएका लायन्स क्लब बर्दिवासकी अध्यक्ष उषा ढकालले जानकारी दिइन् । ‘५ सय जना जति महिलाले जाँच गराउलान् भन्ने अनुमान थियो,’ ढकालले भनिन्, ‘टाढाटाढाबाट आएर धेरै महिलाले सेवा लिए ।’

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा महिला रोग विशेषज्ञ चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीको टोलीले परीक्षण र उपचार गरेको प्रतिष्ठानका निर्देशक महादेव बाँनियाले जानकारी दिए । उनका अनुसार महिलाको पाठेघरमा हुने संक्रमणको पूर्व पहिचान गरी ज्यान जोगाउने योजनाअनुरुप आयोजना गरिएको शिविरमा भीआईए परीक्षण गरी पाठेघरको जाँच गरिएको थियो ।

संक्रमण देखिएका महिलालाई शिविरले निःशुल्क औषधि वितरण गरेको थियो । क्यान्सर देखिएका महिलाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रतिष्ठानले त्यसको बनेपाका केही अस्पतालमा निःशुल्क व्यवस्थापन गरेको जनाएको छ । क्यान्सरका बिरामीलाई अहिले थर्मो मेसिनबाट सामान्य उपचार गरी घर पठाइएको र पछि काठमाडौंमा निःशुल्क शल्यक्रियासहित उपचार गराइने निर्देशक बाँनिया बताउँछन् ।

महिलाहरूले आफ्नो प्रजनन् स्वास्थ्य समस्या लुकाएकै कारण र समयमै उपचार नगराएका कारण संक्रमण फैलिएर जटिल बनेको स्वास्थ्यकर्मीले बताए । ८ सयको परीक्षण गर्दा ४ सय जति महिलामा समस्या देखिनु असामान्य भएको उनीहरूको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७८ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×