महोत्तरीमा जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

सुनिता बराल

महोत्तरी — सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको गौशला नगारपालिका ११ मा जेष्ठ नागरिकले ताला लगाएका छन् । 

महोत्तरीमा जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

भत्ता माग्दै जेष्ठ नागरिकले मंगलबार वडा कार्यालयमा ताला लगाएका हुन् । जेष्ठ नागरिक र एकल महिलाले गत साउनदेखि भत्ता नपाएको बताएका छन् । ३/३ महिनामा पाउनुपर्ने भत्ता ६ महिनासम्म नपाएको ७८ वर्षीय रामनारायाण महतोले बताए । भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे । वडा कार्यालयमा तालाबन्दी गरेर ५० जनाभन्दा बढी जेष्ठ नागरिकले नाराबाजी गरेका छन् ।

कार्यवहाक अध्यक्ष रामगुलाम महतोले भत्ता निकासीका लागि नेपाल बैंक गौशाला शाखा र नगरपालिकासँग समन्वय गरिरहे पनि बैंकले भत्ता उपलब्ध नगराएको बताए । उनले भने, 'नगरले बैंकमा गइसकेको छ भन्ने र बैंकले हुँदैछ, दिन्छौं भनेर टारिरहेको छ ।'

सबै वडाको भत्ता नगरबाट पठाइसकिएको तर केही वडाको वितरणमा समस्या आएकोले बैंक खातामा समस्या भएकाले हुनसक्ने गौशाला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापाले बताए । सिस्टमबाट बैंक खातामा रकम जाने भएकाले कुनैमा समस्या भएको हुन सक्ने उनको भनाइ छ । थापाले चाँडै भत्ता वितरण हुने पनि आश्वासन दिए ।

प्रकाशित : पुस २०, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?