कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्रुटिपूर्ण डिजाइनले अस्पताल निर्माण अलपत्र

डीपीआरमा जगको क्षेत्रफल कम इस्टिमेट गरेको स्वीकार गरे पनि नसच्याइदिँदा निर्माण अघि बढेन
लक्ष्मी साह

बारा — निजगढ नगरपालिकाको त्रुटिपूर्ण डिजाइनका कारण १५ शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । वडा–९ मा भवन निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको ६ महिना बितिसकेको छ । तर हालसम्म जग मात्र खनिएको छ ।

नगरपालिकाले १५ लाख खर्चेर सप्तरीको बियोन्ड कन्सल्टेन्सीमार्फत डीपीआर तयार गरी अस्पताल भवनको डिजाइन गरेको थियो । तर कन्सल्टेन्सीको त्रुटिपूर्ण डिजाइनलाई नै नगरपालिकाले स्वीकृत गरी बोलपत्र आह्वान गरेको थियो । प्राप्त आवेदनबाट आशिष/आशीर्वाद जेभीलाई गत असार २१ मा भ्याटबाहेक १० करोड ९५ लाख रुपैयाँ लागत इस्टिमेट गर्दै एक वर्षमा निर्माण सक्ने गरी ठेक्का दिइयो । ‘मोबिलाइजेसन’ पेश्कीस्वरुप १ करोड रुपैयाँ भुक्तानी पनि दिइसकेको छ । तर नगरपालिकाले त्रुटिपूर्ण डिजाइन नसच्याइदिँदा निर्माणकार्य सुरु हुन सकेको छैन भने २५ लाख रुपैयाँ व्ययभारसमेत थपिएको छ ।

निर्माण स्म्झौताअनुसार जगको काम ६९ वर्गमिटरमा गर्नुपर्नेछ । निर्माणस्थलअनुसार ३ हजार २ सय २२ वर्गमिटर क्षेत्रफलको इस्टिमेट हुनुपर्नेमा कन्सल्टेन्सीले ६९ वर्गमिटरमा बन्ने गरी भवनको डिजाइन गरिदिँदा त्रुटी भएको हो, जसले नगरपालिका र निर्माण कम्पनीबीच विवाद भएको हो । अब फराकिलो जग बनाउँदा २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भन्दै कम्पनीले थप रकम मागेको छ । तर नगरपालिकाले त्यसमा स्विकृति नदिँदा काम अघि बढाउन नसकेको निर्माण कम्पनी आशिष/आशिर्वाद जेभीका व्यवस्थापक इन्जिनियर भवानी चौधरीले बताए ।

उनका अनुसार गत असारदेखि नै सुरुको लागतमा पुनरवलोकन गर्न नगरपालिकालाई पटक–पटक ताकेदा गरे पनि आलटाल गरिरहेको छ । कम्पनीले लागत अनुमानभन्दा ३१ प्रतिशत घटेर ठेक्का लिएको हो । ‘निर्माणस्थलमा सामग्री खसालेको महिनौ भयो । तर क्वान्टिटी भेरिएसन नगर्दा काम सुरु गर्न सकिएको छैन,’ उनले भने, ‘हामीले काम गर्न खोजेका छौं तर म्याद ६ महिना मात्रै बाँकी छ, यस्तोमा कसरी समयमा सम्पन्न गर्ने ?’ यी सबै व्यवधान कागजी र कानुनी रूपमा सल्टिएपछि मात्रै निर्माण थाल्ने उनले स्पष्ट पारे । गत भदौ २८, मंसिर ५ र २९ मा गरी तीन पटक कम्पनीले ‘भेरिएसन’ मागेको उनले जनाए । ‘कम्पनीलाई घाटा पर्दा हर्जानाको लागि माग गर्दा सुनुवाइ भएको छैन,’ उनले थपे ।

उक्त भवन निर्माण गर्न सरकारले १८ करोड रुपैयाँको ‘सिलिङ’ दिएको थियो । तर नगरपालिकाले २४ लाख रुपैयाँ खर्चेर सिलिङविपरीत डीपीआर तयार गर्‍यो । पछि नगरपालिकाकै निर्देशनमा थप १८ लाख खर्च गरी नयाँ डीपीआर बनाइएको थियो । दोस्रो पटकको डीपीआरमै जग ३ हजार २ सय २२ वर्गमिटरमा हुर्नुपर्नेमा ६९ वर्गमिटर इस्टिमेट गरी बोलपत्र आह्वान गरिएको थियो । ‘यसैलाई सच्याएर थप भेरिएसन गर्नुपर्ने माग गरेका हौं,’ इन्जिनियर चौधरीले भने, ‘नगरका अधिकारीहरूले सच्याइदिने आश्वासन दिइरहेका छन् तर, सच्याएका छैनन् । यसैले काम रोकिएको छ ।’

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले त्रुटी सच्याएर निर्माण कार्य छिट्टै अगाडि बढाउने बताए । उनका अनुसार डिजाइनमा त्रुटी भएको नगरपालिकाले स्विकार गरी बोर्डको निर्णयबाट सच्याउने निर्णयसमेत गरिसकेको छ । तर त्यसपछिको प्रक्रिया भने सुरु भएको छैन । नगरपालिकाका इन्जिनियर सुरेश यादवले २५ लाख खर्चेर पुनः बोलपत्र आह्वान गरी निर्माणको काम अघि बढाइने बताए ।

प्रकाशित : पुस १८, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?