नाराले मात्रै 'समृद्ध नेपाल-सुखी नेपाली' सम्भव छैन : मुख्यमन्त्री राउत

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले नारा मात्र दिएर समृद्ध नेपाल-सुखी नेपाली बन्न नसक्ने बताएका छन् । उद्योगधन्धाको विकासबिना मुलुक समृद्ध बन्न नसक्ने उनको भनाइ छ ।

नाराले मात्रै 'समृद्ध नेपाल-सुखी नेपाली' सम्भव छैन : मुख्यमन्त्री राउत

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको दोश्रो प्रदेश अधिवेशन एवं महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘उद्योगी व्यावसायीहरूको हक–हितमा यसअघि पनि आकर्षक नारा दिइए तर न उद्योगको विकास हुन सक्यो न त उद्योगी नै समृद्ध बन्न सके,’ उनले भने, 'कानुनी जटिलता तथा प्रशासनिक ढिलासुस्तीका कारण व्यावसायीहरूलाई सास्ती भोग्नु परेको छ । एउटा उद्योग दर्ता गराउन व्यावसायीहरूलाई महिनौं हैरानी खेप्नु पर्छ । तीन तहबीच समायोजन हुन नसक्दा थप सास्ती भोग्नु पर्छ ।’

प्रदेश २ मा उद्योग व्यावसायको पर्याप्त सम्भावना भए पनि औद्योगिक विकास हुन नसकेको उनले स्वीकार गरे । 'हामीले वीरगञ्ज चिनी कारखाना परिसरमा सेज निर्माण गर्यौं तर संचालन गर्न सक्ने अवस्था छैन,’ मुख्यमन्त्री राउतले भने ।

यस्तै संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय हुन नसक्दा व्यावसायीहरूले समस्या भोग्नु परेको उनको भनाइ थियो। राजविराज, जनकपुर, मलंगवा र वीरगञ्जमा औद्योगिक करिडोर बनाउने निर्णय गरिए पनि समन्वयको आभावमा अझै पूरा हुन नसकेको उनले बताए ।

प्रकाशित : पुस १४, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?