कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सडक बीचका रूखले दुर्घटनाको जोखिम

शंकर आचार्य

पर्सा — हुलाकी सडकको बीच र किनारमा रहेका रूख कटान नहुँदा दुर्घटनाको जोखिम बढेको छ । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत ठोरी गाउँपालिकाका विभिन्न स्थानमा यस्तो समस्या छ । यो सडक निर्माण भएको झन्डै एक वर्ष बितिसके पनि सडकको बीच र किनारका रूख हटाइएको छैन ।

सडक बीचका रूखले दुर्घटनाको जोखिम

वातावरणीय अध्ययन प्रतिवेदनको प्रक्रिया पूरा नगरी सडक निर्माण गर्न थालिएको थियो । त्यसैले चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको अनुमति बिना ठेकेदार बानिया/कालिका जेभि कन्स्ट्रक्सनले रूख नकाटी सडक कालोपत्र गरेको हो । हुलाकी सडकको यो खण्डको ठूलो भाग चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा परेको सडक खण्डमा भने यस्तो समस्या छैन । अहिले दैनिक वीरगन्ज र चितवन आवागमन गर्ने सवारीसाधनका कारण यो सडक व्यस्त देखिन्छ । भारतबाट आउने पर्यटकको गाडी गरी ठूलो संख्यामा सवारीसाधन यही सडक खण्डमा गुड्छन् ।

स्थानीय माधव तिमिल्सेना ठोरी गाउँपालिका वडा नं १ देखि ३ सम्म गरी ७ ठाउँमा बीच र धेरै स्थानमा सडक किनारमा रुख रहेको बताउँछन् । ‘पहिलो पटक त्यो रुटमा सवारी चलाउनेले राति रूखको भेउ नपाउँदा दुर्घटनाको जोखिम छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय ठोरीको अगाडि, ठुटे खोलाको पूर्वमा र सिकारीबास खोलाको पश्चिममा सडककै बीचमा ठडिरहेका रूखबाट जोखिम छ ।’

ठोरी गाउँपालिका १ का अध्यक्ष रामप्रकाश कुँवरले आफ्नै वडामा मात्र सडकको बीच र किनारमा गरि करीब २७ वटा रुखबाट दुर्घटनाको उच्च जोखिम रहेको बताए । ‘यो समस्या समाधानका लागि हुलाकी सडक आयोजना कार्यालय र चितवन राष्ट्रिय निकुञ्जलाई पटकपटक आग्रह गरिसकेका छौं,’ उनले भने, ‘हाल दुबै कार्यालय सकारात्मक रहेकाले छिट्टै रूख काटिने आश्वासन पाएका छौं ।’

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हालसम्म ठोरी गाउपालिकामा हुलाकी सडकमा परेका रुख कटानको सम्बन्धमा कुनै प्रक्रिया अघि नबढेको बताए । ‘त्यतिबेला सडक कालोपत्र गर्नुअघि वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर मात्र सडकको काम अघि बढाइएको भए रूख कटान गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘उतिबेलै यो प्रक्रियाबाट अघि बढेको भए मन्त्री परिषदले रुख कटानको सम्बन्धमा निर्णय गर्थ्यों । सडक कालोपत्र गर्नुअघि समन्वय नहुँदा समस्या देखिएको हो ।’

हुलाकी सडक आयोजना कार्यालय वीरगन्जका प्रमुख दरोगा प्रसादले राजमार्ग र किनारका सडक कटान गर्न आवश्यक ठेक्कालगायतका सबै प्रकृया हुलाकी सडक निर्देशनालय काठमाडौंले गर्ने र यसमा वीरगन्ज कार्यालयको कुनै अधिकार नरहेको बताए । निर्देशनालयका इन्जिनियर शिवु खत्रीले रूख कटानको सम्बन्धमा कागजी प्रक्रिया अघि नबढेको जनाए ।

प्रकाशित : पुस १०, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?