विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

धनुषा — नेपाली कांग्रेस प्रदेश २ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु मतदान राति ८ बजे सकिएको हो ।

मतदानमा १ हजार ८ सय ८१ जना सहभागी भएको निर्वाचन समितिका सदस्य अरुण यादवले बताए । अधिवेशनमा १ हजार ९ सय ५१ प्रतिनिधिमध्ये १ हजार ८ सय ८१ जनाले मात्रै मतदान गरेको यादवले बताए ।
‘मतदानबारे विस्तृत विवरण तयारीकै क्रममा छ । मतगणना र अन्य विषयमा केही बेरपछि टुंगो लाग्नेछ,’ यादवले भने । नेपाली कांग्रेस प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामध्ये ५ जना निर्विरोध निर्वाचित भएको यादवले बताएका छन् ।
नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।
जनकपुरमा भएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो ।
कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज
