महोत्तरीमा एकै दिन ९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

सुनिता बराल

महोत्तरी — महोत्तरीमा एकै दिन ९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाएका छन् । बुधबार सुरु भएको खोप अभियानको पहिलो दिन नै ९ हजार १ सय ४२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीमा एकै दिन ९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

महोत्तरीका ४६ वटा खोप केन्द्रबाट ४ हजार ३ सय बालक र ४ हजार ८ सय ४२ बालिकाले बुधबार मोडर्ना खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।

जिल्लाको स्वास्थ्य टोली खोप लिएर महोत्तरीका विभिन्न विद्यालयमै पुगेर खोप अभियान संचालन गरिरहेको झाले बताए । नियमित खोप संचालन गरिने केन्द्रहरूमा जान बालाबालिकालाई समस्या हुने भएकाले विद्यालयमै गएर बालबालिकालाई खोप लगाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

बर्दिवास नगरपाकिलाभित्रका विभिन्न सामुदायिक र निजी विद्यालयमा गएर खोप अभियान चलाउँदै एक दिनमै बर्दिवास नगरभित्रका मात्रै २ हजार ७ सय २८ बालबालिकाले खोप लगाएको स्वास्थ्यकर्मी रामबाबु यादवले बताए ।

हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा खोप अभियान चलिरहेको छ । ११ गतेसम्म यी पालिकामा खोप अभियान चल्ने र १४ गतेदेखि जिल्लाका अन्य पालिका जलेश्वर,लोहारपट्टी, मनराशिसवा, मटीहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ गतेसम्म खोप अभियान संचालन गरिने खोप अधिकृत झाले जानाकारी दिए ।

२०६१ मंसिरदेखि ०६६ मंसिरसम्म जन्मिएका १२ देखि १७ वर्षसम्मका बालबालिकाले यो खोप लगाइरहेका छन् । जिल्लामा ८५ हजार २ सय खोप उपलब्ध रहेको र अरु १२ हजार खोप अपुग हुने देखिएको खोप अधिकृत झाले बताए । बिहीबार पनि महोत्तरीका ४६ वटै खोपकेन्द्रबाट खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ८, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?