कांग्रेस प्रदेश २ अधिवेशन : मतपत्र छाप्न ढिलाइ भएपछि मतदान प्रक्रिया लम्बियो

धनुषा — नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा मतपत्र छाप्न ढिलाइ भएपछि मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन ।

निर्वाचन अधिकृत प्रल्हाद गौतमले मतपत्र छाप्ने क्रममा रहेको बताए । ‘छापाखानमा मतपत्र छाप्न क्रममा छ,’ निर्वाचन अधिकृत गौतमले भने,‘ ५ बजे अघि नै मतदना सुरु गर्ने तयारी भएको छ । मतपत्र समयमा नछापिदा तोकिएको समयमा मतदान हुन सकेन ।’ मतदानको नयाँ समयसहितको सूचना निकाल्ने तयारी भइरहेको उनले बताए ।
मतदान नहुँदा जिल्लाहरुबाट आएका प्रतिनिधिहरु जनकपुरमा थन्किएका छन् । अधिवेशन स्थलमा प्रतिनिधिलाई दिन बिताउनै समस्या भएको सर्लाहीको नवलपुरबाट आएका प्रतिनिधि राजु राईले बताए ।
‘अधिवेशन स्थलमा प्रतिनिधिका लागि शौचालयको व्यवस्ता नहुँदा समस्या भएको छ,’ उनले भने,‘अधिवेशन आयोजकको व्यवस्थापन पक्ष कमजोर हुँदा प्रतिनिधिलाई खान बस्न समस्या भयो । आसपासमा भिडलाई आवश्यक शैचालय नहुँदा दुर्गन्ध फैलिएको छ ।’
दुरदराजबाट मतदानका लागि आएका प्रतिनिधिलाई जनकपुरमा बास बस्न होटल उपलब्ध नहुँदा राति बस्नै समस्या भएको उनले बताएका छन् ।
प्रकाशित : पुस ७, २०७८ १६:२९