मर्मत भएन झोलुंगे पुल

सुनिता बराल

महोत्तरी — निर्माण सकिएको ३ महिना पनि नबित्दै भत्किएको महोत्तरीको झोलुंगे पुल अझै मर्मत हुन सकेको छैन । महोत्तरी र धनुषा जोड्ने रातु खोलाको झोलुंगे पुल बिग्रिएको डेढ वर्ष बितिसकेको छ । ठेकेदारको लापरबाहीका कारण मर्मतमा ढिलाइ भएको हो ।

पुलको काम २०७७ वैशाखमा सकिएको थियो । तर, त्यही वर्षको असारमा आएको बाढीले पुल भत्कायो । निर्माणको एक वर्षभित्र भत्किएमा ठेकेदार कम्पनीले नै मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने सम्झौता छ । त्यसअनुसार निर्माण कम्पनीले पुल भत्किएपछि सबै सामान निकालेको थियो । तर, हालसम्म पुनर्निर्माण गरेको छैन । धनुषाको मिथिला नगरपालिकामा खेती भएका महोत्तरीवासी र धनुषाबाट महोत्तरीको बर्दिबास बजार आउने–जाने स्थानीयले पुल नहुँदा खोलाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । खोलामा पुल बनेपछि वर्षौंदेखिको जोखिमपूर्ण यात्रा सकियो भनेर खुसी भएका स्थानीय पुल भत्किएपछि निराश छन् । पुलबाट वारपार गर्न नपाएकाले खोलाको जोखिम उस्तै रहेको बर्दिबास–३ की अप्सरा देवकोटाले बताइन् । ‘खेती गर्न बर्सेनि खोलाबाट ज्यान माया मारेरै हिँड्नुपर्छ,’ देवकोटाले भनिन्, ‘पुल कमसल बनाइयो । अझै बन्लाजस्तो लागेको छैन । खोलाको पीर उस्तै छ ।’

धनुषाको मिथिला नगरपालिका–१ स्थित तुलसीबाट दाउरा बर्दिबास ल्याई बेचेर गुजारा चलाउने बाबुराम मोक्तान पुल बनेपछि आफ्नो व्यापार बाह्रैमास हुनेमा आशावादी थिए । ‘पुल बेनपछि खुसी लागेको थियो,’ मोक्तानले भने, ‘भत्किएर फेरि बनिनसकेकाले वर्षा आउनै लाग्दा खोलाकै पीर लाउँछ ।’ पुल निर्माणको जिम्मा पाएको हेल्वेटास नेपालले भने काम अन्तिम चरणमा रहेको र आवश्यक सामान निकासीमा ढिलाइ हुँदा सञ्चालनमा आउन नसकेको जनाएको छ । पहिले खोलाले पुल भत्काएपछि केही सामान पहिलेकै प्रयोग गरेको भए पनि थप्नुपर्ने सामान उपलब्ध नभएको इन्जिनियर अजय चौधरीले जानकारी दिए । उन्जाई केवलले कसेपछि पुल सञ्चालन गरिने उनले बताए ।

१ करोड ४७ लाख लागतमा निर्माण भएको २ सय २३ मिटर लामो र १ मिटर २० सेन्टिमिटर चौडा भएको पुलको बिमा गरिएकाले त्यही रकमबाट मर्मत गरिएको हेल्वेटासले जनाएको छ । पुलको दुवैतर्फ टेक्ने ठाउँमा ५ फिटजति खाली ठाउँ छाडिएको छ । पुल प्रयोग गर्न सकिने भए पनि थप मजबुत बनाउन उन्जाई केवलले कसेपछि मात्रै टेक्ने ठाउँमा डेक राखेर पुल सञ्चालन गरिने चौधरीले बताए । खोलाले गर्न सक्ने क्षति रोक्न र पुल मजबुत बनाउन जमिनमुनि नै धेरै काम गरिएकाले पुल बनाउन धेरै समय लागेको उनको भनाइ छ ।

प्रकाशित : पुस ४, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?