१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेशको नाम तोक्न नसक्दा पीडा बोध भएको छ : मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम तोक्न नसक्दा पीडा बोध भएको बताएका छन् ।  प्रदेशको राजधानी टुंगो लाग्न नसक्दा राजधानीको संरचना तयार गर्न समेत समस्या भएको छ,' मुख्यमन्त्री राउतले प्रदेशसभामा बुधबार बोल्दै भने, 'प्रदेशको नाम लिएर घोचपेच हुँदा  म आफैंलाई पीडा  बोध भएको छ ।’

प्रदेशको नाम तोक्न नसक्दा पीडा बोध भएको छ : मुख्यमन्त्री राउत

प्रतिपक्षी दलका नेता र सरकारमा रहेको दलका नेताहरुलाई मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानीको निकास दिन आग्रह गरे ।

प्रदेशसभाको ८ औं अधिवेशनको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी र नामको टुंगो नलाग्दा अन्यौलताको अवस्था आएको बताए । नाम र राजधानीबारे विलम्ब नगरी निकास आवश्यक छ, राउतले भने, 'प्रदेशसभा अब निरन्तरता पाउने छ । प्रदेशका लागि आवश्यक बाँकी रहेको विधेयक प्रदेशसभामा प्रस्तुत हुने छ ।’

प्रमुख प्रतिपक्ष र सरकारमा सहभागी दलका नेताहरुसँग छलफल गरी नाम र राजधानीको विषयमा निकास निकाल्न सक्ने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे ।

'मेरै ढिलासुस्ती र चाहेर पनि ४ वर्षमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकेनौं,' राउतले भने, 'प्रदेशको नाम र राजधानी प्रदेशसभामा प्रवेश भएपनि प्राविधिक कारणले पारित हुन सकेन । तर अब प्रदेशको नाम र राजधानी पारित भएर निकास मिल्ने छ ।’

मुख्यमन्त्री राउतले प्रदेश सरकारले विश्व विद्यालय स्थापना गर्न २ अध्यादेश राम्रो उद्देश्यका साथ ल्याएको बताउँदै प्रदेशसभाबाट अध्यादेश पारित गराउन प्रदेश सांसदहरुसँग आग्रह गरे । छिटो प्रक्रियाबाट विश्वविद्यालय स्थापना गर्न अध्यादेश ल्याइएको राउतले प्रष्ट पारे ।

प्रदेश सरकारले प्रदेश लोक सेवा गठन गरी काम थालेको जानकारी गराउँदै कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेशको ८ वटै जिल्लामा प्रभावकारी ढंगले काम गरिएको जानकारी गराए । प्रदेश २ मा स्वास्थ्य परीक्षण गर्न काठमाडौं पछि राम्रो प्रयोगशाला स्थापना गरिएको उनले दाबी गरे ।

प्रकाशित : मंसिर २९, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?