१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्जमा ६ करोड २२ लाखको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि ६ करोड २२ लाख रुपैयाँमा ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’को निर्माण गरेको छ ।

वीरगन्जमा ६ करोड २२ लाखको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र

मध्य तराईको मेडिकल हब बन्दै गरेको वीरगन्जमा यसअघि अस्पतालजन्य फोहोर अन्य फोहोरसँगै विसर्जन गरिन्थ्यो । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले फोहोर व्यवस्थापन केन्द्रको सोमबार उद्घाटन गरेका थिए ।

‘वीरगन्जमा निजी अस्पतालको संख्या बढेसँगै अस्पतालजन्य फोहोर विसर्जन गर्ने केन्द्रको आवश्यकता देखिएको थियो,’ मेयर सरावगीले भने, ‘अस्पतालले अनुमति पत्र लिने क्रममा अस्तालजन्य फोहोर आफैंले विसर्जन गर्ने जनाए पनि महानगरपालिकाको अन्य फोहोरसँगै मिसाउने गरिएको थियो । नालामा बगाउने गरिएको थियो । यसले संक्रामक रोग फैलिने खतरा रहन्थ्यो ।’

महानगरपालिका योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीका अनुसार कोरोना अवधिमा पनि चुनौतीपूर्ण प्रोजेक्टको रुपमा काम अगाडि बढाइएको थियो ।

‘विसर्जन केन्द्रमा ग्रीन टेक्नोलोजी प्रयोग गरी अटोक्लेभ प्रविधि मार्फत विषाक्त फोहोरलाई गैरविषाक्त बनाइने छ,’ इन्जिनियर अधिकारीले भने, ‘महानगरपालिकामा दैनिक ४.७ मेट्रिक टन अस्पतालजन्य फोहोर निस्किन्छ । जसमध्ये २.७ मेट्रिक टन फोहोर विषाक्त हुने गरेको छ ।’

उनका अनुसार अटोक्लेभको मुख्य काम नै विषाक्त फोहोरलाई विषाक्तरहित बनाउनु हो । ‘त्यो फोहोर सड्छ या त पुन: प्रयोगमा आउँछ । यसैले विसर्जन केन्द्र बनाइएको हो,' उनले भने, ‘विषाक्त फोहोरलाई सुरक्षित रुपले सडाउन यसमा विभिन्न किसिमका कम्पार्टमेन्ट छन् ।’

अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि यसमा २३ जनाले रोजगारी पाउने बताइएको छ । ढुवानी गर्ने तथा सरसफाइ कामदारले पनि यहाँ काम पाउँछन् ।

महानगरपालिकाका अनुसार महानगरले आफ्नै लगानीमा वीरगन्ज– १६ नगवामा फोहोर विसर्जन केन्द्रको स्थापना गरेको हो । अस्पतालजन्य फोहोर संकलनका लागि दुईवटा मिनी ट्रकसमेत खरिद गरिएको छ । ल्यान्ड फिल्ड साइटका ठेकेदारलाई नै केही समय अस्पतालजन्य फोहोर विसर्जन केन्द्र सञ्चालनको जिम्मा दिइने र पछि निजी साझेदारी अन्तर्गत ठेक्का लगाउने मेयर सरावगीले बताए ।

फोहोर व्यवस्थापनका लागि अस्पताल र पोलीक्लिनिकले विषाक्त र गैरविषाक्त फोहोर छुट्याएर राखिदिनुपर्ने प्रावधान तोकिएको महानगरले जनाएको छ । ‘फोहोर विसर्जजनका लागि अस्पतालबाटै सरसफाइकर्मीले फोहोर संकलन गर्छन्,’ मेयर सरावगीले भने, ‘यसका लागि अस्पतालको सहयोगसमेत आवश्यक पर्छ । विषाक्त र गैरविषाक्त फोहोरा अस्पतालले छुट्याएर राखिदिनुपर्छ ।’

प्राविधिकका अनुसार अस्पतालबाट संकलन गरिएको विषाक्त फोहोर केन्द्रको अटोक्लेभमा राखेर गैरविषाक्त बनाइनेछ ।

प्रकाशित : मंसिर २७, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?