कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनियमितता आरोपमा दिनहुँ प्रदर्शन

शिव पुरी

रौतहट — नगर प्रमुख र शिक्षा संयोजकको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै फतुवा विजयपुर नगरवासीले केही दिनदेखि लगातार विरोध प्रदर्शन गरिरहेका छन् । नगरले गरेको विकास निर्माणलगायत कामको हिसाब माग्दा नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

अनियमितता आरोपमा दिनहुँ प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य विन्देश्वर यादव नेतृत्वको टोलीले गतवर्ष नै सूचनाको हक प्रयोग गरी झन्डै ७५ वटा शीर्षकमा भएको खर्च विवरण मागेको थियो । तर नगरपालिकाले अहिलेसम्म सूचना दिएको छैन । ७ महिनासम्म पनि नगरपालिकाले सूचना नदिएको जसपा नेता शिवपुजन यादवले बताए । ‘नगरपालिकाले गरेको खर्च पारदर्शी छ भने सूचना दिन किन आनाकानी गर्नुपर्‍यो ?,’ उनले भने, ‘नगर प्रमुख र कर्मचारीको मिलेमतोमा शीर्षक मिलाएर रकम हिनामिना गरिएको हामीले बुझेका छौं । सत्यतथ्य छानबिन हुनुपर्छ ।’

आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्मको आयव्यय विवरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लेखाजोखा, बहुराष्ट्रिय बालपोषण कार्यक्रमको खर्च विवरण, सामाजिक सुरक्षा भत्ता, सेवाग्राहीको बैंक खातामा पठाउनुअघिको भर्पाइसहित लेखाजोखा, सामाजिक संस्थालाई दिएको कार्यक्रमको विवरण, गतवर्ष मकैपीडित किसानलाई दिइएको क्षतिपूर्ति, धानको बीउ वितरणको विवरणलगायत शीर्षकमा सूचना माग गरिएको थियो । सूचना मागेपछि यादवले पटक–पटक ताकेतासमेत गरेको दाबी गरे । नगरपालिकामा ससर्त, निःसर्त, निजी स्रोत, शिक्षा, स्वास्थ्यलगायत विभिन्न शीर्षकमा आउने करोडौं बजेट नगर प्रमुख, कर्मचारी र शिक्षा संयोजकको मिलेमतोमा भागबन्डा गरी अपचलन गरेको जसपा र माओवादी केन्द्रका नेताहरूको दाबी छ ।

यसअघि माओवादी केन्द्रका नेता सुरेन्द्र यादवको अगुवाइको टोलीले पनि शिक्षा क्षेत्रको बजेटमा अनियमितता भएको भन्दै नगरपालिकाअगाडि प्रदर्शन गरेको थियो । तर आफूमाथि लगाइएका सबै आरोप झूटा भएको बताउँछन् नगर प्रमुख यादव । ‘सत्यतथ्यबिनै आरोप लगाउन सजिलो छ,’ उनले भने, ‘त्यसलाई प्रमाणित गर्न सहज छैन । नगरपालिकामा कुनै अनियमितता भएको छैन ।’

शिक्षा क्षेत्रमा अनियमितता बढेकोबारे चासो लिँदा प्रहरीले आफूलाई ४ घण्टा हिरासतमा राखेको माओवादी नेता यादवको गुनासो छ । शिक्षा संयोजक यादवसँग शिक्षाका विभिन्न शीर्षकमा आएको बजेटको खर्चबारे जानकारी लिन खोज्दा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले आफू र भाइ नवलकिशोर यादवलाई बिनाकारण हिरासतमा राखेर अपमान गरेको उनको आरोप छ । प्रहरीले भने शिक्षा संयोजक यादवलाई हातपात गरेको सूचना पाएपछि शान्ति सुरक्षाको लागि यादव दाजु–भाइलाई केही समय नियन्त्रण लिएर छाडेको बतायो । ‘बालिकालाई सेनिटरी प्याड वितरण गर्न गत आवमा झन्डै १२ लाख रुपैयाँ निकासा भएको थियो,’ उनले भने, ‘तर हालसम्म वितरण गरिएको छैन । यसको छानबिन हुनुपर्छ ।’

प्रकाशित : मंसिर २५, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?