भारतीय अर्केष्ट्राबाट ४ को उद्धार 

शंकर आचार्य

पर्सा — भारतको छौडादानोस्थित अर्केष्ट्राबाट फेरि दुई छोरीसहित दुई महिलाको उद्धार गरी नेपाल फर्काइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृह, पर्सा प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहीबार भारत बिहार छौडादानोको बेलाहा खोलाको पुल नजिकबाट ती चेलीहरुको उद्धार गरेको हो ।

उनीहरुलाई त्यहाँ झाडीमा एकलासमा रहेको घरमा दुई वर्षदेखि बन्धक बनाएर राखिएको थियो ।

उद्धार गरिएकाहरु झापाका १८ र १९ वर्षका छन् । उनीहरुको साथबाट दुबैका क्रमश: अढाई र ४ वर्षका छोरीहरुलाई पनि उद्धार गरिएको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगिता पुरीले जानकारी दिइन् । चिनजानका व्यक्तिहरुमार्फत रोजगारीका लागि भनि भारत पुगेका दुबै चेलीलाई अर्केष्ट्रा सन्चालक नन्द किशोर र उनकी पत्नी रुबीले बन्धक बनाए राखेका थिए । बेला बेलामा विभिन्न कार्यक्रमहरुमा अश्लील नृत्य गर्न लगाइने र त्यसको उचित पारीश्रमिक नपाएर उनीहरु प्रताडित थिए ।

रुबीको माइती वीरगन्जको नगवामा रहेको र उनले सोझासाझा नेपाली चेलीहरुलाई फकाएर आफ्नो अर्केष्ट्रा व्यापार चलाउँदै आएकी छन् । कात्तिक २४ गते दुबै चेलीले झापामा रहेका आफन्तलाई फोन गरी आफूहरुको अवस्थाबारे बताएपछि ती चेलीका आफन्तले २ साताअघि माइती नेपाल वीरगन्ज आवधिक गृहमा उद्धारका लागि निवेदन दिएका थिए ।

यस वर्षमात्रै माइती नेपालले यसरी भारतीय अर्केष्ट्रामा बन्धक बनाएर राखिएका ११ चेली र तीन बालबच्चा समेतलाई उद्धार गरिसकेको पुरीले बताइन् ।


प्रकाशित : मंसिर २३, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?