१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वृद्ध हत्याको खुलेन कारण

सप्तरी — सप्तरीका ८१ वर्षीय वृद्धको हत्या भएको दुई साता पुगे पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन । न त हत्याको कारण नै खुल्न सकेको छ । मंसिर ८ मा छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका मिश्रीलाल मण्डलको हत्या भएको हो ।

राजविराज–छिन्नमस्ता सडक खण्डअन्तर्गत झौखराही फूलबारीमा धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो ।

उनी दिउँसो छिन्नमस्ता चोकमा चिया खाएर घर फर्कंदै थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । तर हालसम्म प्रहरीले हत्याको कारणसमेत पता लगाउन सकेको छैन । ‘हामी अनुसन्धानमै छौं,’ सप्तरी प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद

काफ्लेले भने, ‘अझैसम्म हत्याको कारण र दोषी को हो भन्ने खुल्न सकेको छैन ।’ दैनिक रोजगारी गरेर छाक टार्ने हैसियतका वृद्धको हत्या कसले र किन गर्‍यो होला भन्नेबारे स्थानीयले पनि अनुमान गर्न सकेका छैनन् ।

यसअघि सप्तरीको खड्ग नगरपालिका–५ खरचुहियाका वृद्ध दम्पतीको हत्या पनि अझै रहस्यमै छ । २०७५ फागुन १४ गते बिहान ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीय बेचनीदेखि साहको शव आफ्नै घरभित्र जलेको अवस्थामा फेला परेको थियो । नियमित दूध दिन आउने व्यक्तिले बिहान आउँदा घरबाट कोही ननिस्केको र कोठाबाट धूवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले त्यतिबेला दम्पतीको हत्यापछि जलाइएको बताएको थियो । तर, घटना भएको ३३ महिना बित्दा पनि अझै अनुसन्धानमा रहेको प्रहरीले जवाफ दिँदै आएको छ ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?