१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गहुँ छर्न मल अभाव

२५ सय मेट्रिक टन आयात गरिने भए पनि माग नधान्ने
शंकर आचार्य

पर्सा — गहुँको बिउ छर्ने बेला डीएपी मल अभाव भएको छ । धानबाली भित्र्याइसकेपछि अहिले तराई–मधेसमा गहुँ छर्ने मुख्य सिजन हो । किसानले गहुँको बिउमै डीएपी र पोटास मल मिसाएर छर्ने गर्छन् । नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले अहिले डीएपी मलको चरम अभाव भएको बताए ।

गहुँ छर्न मल अभाव

‘मलाई जिल्लाभरिका किसानसाथीले डीएपी मल नपाइएको गुनासो गरिरहनुभएको छ,’ उनले भने, ‘सहकारीले पर्याप्त मल पाएका छैनन् । कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनलाई गुहार्दा मल केही दिनभित्रै आउँदै छ भनेर आश्वासन मात्र पाइएको छ । अहिले खाँचो भइसकेको छ । छर्किने समय सकेपछि आउने मल के काम ।’

पर्सागढी नगरपालिका ३ स्थित सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले कृषि सामग्री कम्पनीले यस वर्ष माग भएजति डीएपी मल नदिएको गुनासो गरिन् । ‘कम्पनीले सातामा ५० बोरा मात्र डीएपी मल दिइरहेको छ,’ उनले भनिन्, ‘किसानको माग बढी छ । मल पाइन्छ कि भनेर वीरगन्जस्थित साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय आइपुगेकी छु ।’

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले मागभन्दा मल अत्यन्त कम रहेकाले आफूलाई चर्को दबाब रहेको बताए । ‘हाम्रो जिम्मेवारीमा १६ कार्यालय छन्, चारैतिरबाट डीएपी मलको माग छ,’ उनले भने, ‘हालसम्म ९ हजार ५ सय मेट्रिक टन डीएपी मल बिक्री गरिसकेका छौं । अन्य जिल्लाबाट पनि माग आइरहेको छ । मैले आफ्नो कार्यकालमा यति दबाब कहिल्यै महसुस गरेको थिइन् ।’

पर्सामा मात्रै करीब १ हजार ३ सय मेटन डीएपी मल बिक्री गरिसकेको बताउँदै केसीले पर्सामै अझै डीएपी मल अपुग भएको बताए । कम्पनीले यसबर्ष देशभरिकै लागि ग्लोबल टेन्डरबाट २५ हजार मेटन डीएपी मल आपूर्ति गरेकोमा हालसम्म वीरगन्ज कार्यालयमा प्राप्त ९ हजार ५ सय मेटन मल करिब परिचालन भइसकेको उनले बताए । मल आपूर्तिको ठेक्का पाएको इन्डियन पोटास लिमिटेडले चीनबाट ल्याइरहेको डीएपी मलमध्ये अझै २ रेल्वे र्‍याक आउन बाँकी रहेको उनले बताए । तीमध्ये एउटा र्‍याक वीरगन्जको सीमा पारि भारतीय सहर रक्सौल रेल्वे स्टेसनसम्म आइपुगेको र सम्भवतः मंगलबार सिर्सिया सुक्खा बन्दरगाह आइपुग्ने उनले बताए ।

अर्को र्‍याक पनि भारतीय रेलमार्गमै रहेको उनले बताए । दुवै र्‍याकमा गरी आउने ५ हजार मेटन डीएपी मलमध्ये आधा वीरगन्ज र आधा विराटनगर कम्पनी प्रादेशिक कार्यालयले पाउने उनले जानकारी दिए । वीरगन्ज कार्यालयले पाउने २ हजार ५ सय मेटनबाहेक यस वर्ष कार्यालयले अब डीएपी मल पाउने कुनै सम्भावना नरहेको उनले बताए । साल्टको वीरगन्जस्थित प्रदेश कार्यालयमा भने हाल डीएपी मलको मौज्दात नरहेको कार्यालय स्रोतले बताएको छ ।

प्रकाशित : मंसिर २३, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?