कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

अवधेशकुमार झा

काठमाडौँ — सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् । 'गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ,' उपाध्यक्ष मण्डलले कान्तिपुरसँग भनिन्, 'आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यसक्रममा कता लाग्यो के भयो थाहा भएन ।'

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क हुन सकेन ।

छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो ।

तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ । उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।

तर उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् । अध्यक्ष मण्डल भने यसअघि पनि गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा पनि विवादमा तानिएका थिए ।

प्रकाशित : मंसिर २१, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?