३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विवाहोत्सवको रौनक सुरु

महोत्सव हेर्न आउने धर्मावलम्बीले जनकपुरका होटल भरिभराउ
सन्तोष सिंह

जनकपुर — जनकपुरमा रामजानकी विवाहोत्सवको रौनक सुरु भएको छ । सोमबार बेहुली (सीता) पक्षबाट कोसेलीसहित जनकपुरस्थित राममन्दिरमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितको लावालस्कर पुगेको छ । बुधबार हुने रामजानकी विवाह उत्सवको तिलकोत्सव विधि सोमबार राममन्दिरमा आयोजना गरिएको हो, जहाँ बेहुला (राम) र बेहुली (सीता) पक्षबाट हजारौंको सहभागी थिए ।

विवाहोत्सवको रौनक सुरु

जिल्ला प्रशासन कार्यालय, धनुषाले कोरोना संक्रमणका कारण विवाह उत्सवमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने भने पनि तिलकोत्सव समारोहमा सहभागी धेरैजसो मास्कविहीन थिए । कोरोना महामारीकै कारण गतवर्ष विवाह उत्सव औपचारिकतामा मात्रै मनाइए पनि यसपालि भव्य आयोजना गरिएको छ । जानकी मन्दिरले सात दिनसम्म विवाह महोत्सव मनाउने निर्णय गरेको छ । शुक्रबारदेखि आरम्भ भएको विवाह महोत्सवका लागि जानकी मन्दिरमा विशेष तयारी गरिएको छ । जानकी मन्दिरलाई विवाह महोत्सवका लागि बेहुलीझैं सिंगारिएको छ ।

जनकपुर नगरक्षेत्रलाई सरसफाइ गरी मुख्य चोकमा प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सव हेर्न भारत र तेस्रो मुलुकबाट धर्मावलम्बी जनकपुर आउन सुरु भएको छ । यहाँको होटल भरिभराउ छ । विवाह महोत्सवमा तिलकोत्सव, मटकोर, शुभविवाह र अन्तिम दिन रामकलेवा विधि हुने जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले बताए । महोत्सवमा प्रवचन, रामलीला, झाँकी, मंगलगीत साप्ताहिक कार्यक्रम आयोजना गरिएको छ ।

विवाह महोत्सवअन्तर्गत पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, दोस्रो दिन शनिबार फूलबारी, तेस्रो दिन आइतबार धनुष यज्ञ, चौथो दिन सोमबार तिल्कोत्सव मनाइएको छ । मंगलबार मटकोर र बुधबार रामजानकी विवाह महोत्सव आयोजना हुँदै छ । तिल्कोत्सव कार्यक्रम राममन्दिर परिसरमा आयोजना गरिएको थियो । जानकी मन्दिर परिसरबाट फलफूल र विभिन्न परिकारको भारसहित नगर परिक्रमा गर्दै राममन्दिर पुगेर तिल्कोत्सव मनाइयो ।

त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वास छ । महोत्सवलाई केन्द्रित गरी जनकपुरमा सुरक्षा सतर्कता बढाइएको छ । जानकी मन्दिर परिसर र बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ । मेला व्यवस्थापनका लागि अन्य जिल्लाबाट १ हजार ५ सय जना नेपाल प्रहरी र सशस्त्र प्रहरी जनकपुरमा ल्याएर परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए ।

विवाह महोत्सवमा सहभागी हुनेलाई प्रशासनले मास्क अनिवार्य गरेको छ । ‘सहभागीलाई मास्क अनिवार्य लगाउन अनुरोध गरेका छौं,’ प्रजिअ बाँस्तोलाले भने, ‘मास्क नलाउनेलाई मेला आयोजकले नै मास्क उपलब्ध गराउनेछ ।’ विवाह महोत्सवमा सहभागी हुन भारतबाट आउनेलाई कुनै रोकावट नगरिएको बाँस्तोलाले बताए । सरकारले नेपाल–भारत सीमा नाका खुला गरेका कारण मेलामा सहभागी हुनबाट रोक्न नमिल्ने उनले बताए ।

विवाह महोत्सवका लागि जनकपुर परिक्रमा क्षेत्रभित्र ३ दिनसम्म माछा, मासु तथा मदिरा बिक्री, वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले मंसिर २१ गते मंगलबार बिहानदेखि २३ गते बिहीबारसम्म माछा, मासु र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले विवाह महोत्सवलाई घर आसपासमा सरसफाइ गर्न अनुरोध गर्दै भीडभाड मेलामा जाँदा कोभिड–१९ संक्रमणको चुनौतीका कारण अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

विवाह महोत्सवका लागि जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले बताए । विवाह पञ्चमीका अवसरमा बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?