कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कांग्रेस महाधिवेशन

सर्लाहीका तीन क्षेत्रमा अधिवेशन

विवाद भएको एउटा क्षेत्रमा मंगलबारदेखि सुरु गर्ने तयारी
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबारबाट सुरु भएको छ । एक क्षेत्रमा विवादका कारण अधिवेशन प्रक्रिया रोकिएको छ । त्यहाँ मंगलबार बिहानबाट अधिवेशन हुनेछ । दुई पक्षबीच जारी विवादकै क्रममा निर्वाचन अधिकृतले अधिवेशनको घोषणा गरेपछि क्षेत्रीय अधिवेशन सुरु भएको हो । 

सर्लाहीका तीन क्षेत्रमा अधिवेशन

सोमबार जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिसहित महाधिवेशन प्रतिनिधिका लागि मनोयनन दर्ता भए पनि केही विवादका कारण क्षेत्र–३ मा अधिवेशन प्रक्रिया रोक्नुपरेको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । क्षेत्र–१ को ईश्वरपुर, क्षेत्र–२ को मलंगवा, क्षेत्र–३ को बरहथवा र क्षेत्र–४ को गोडैता नगरपालिकाको रामवनमा अधिवेशन प्रारम्भ भएको हो ।

क्षेत्र–३ बाहेकका क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सोमबार मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताए । ‘निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ, तीन क्षेत्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ, एक क्षेत्रमा निर्वाचन प्रक्रिया मंगलबार हुन्छ,’ उनले भने ।

क्षेत्र–३ को एक वडामा नक्कली माइन्युट बुझाएर मतदाता नामावाली प्रकाशन गराउन खोज्दा सक्कली फाइल फेला परेपछि नक्कली बदर गर्दै प्रक्रिया अघि बढाउन खोज्दा विरोध भएपछि रोकिएको निर्वाचन अधिकृत ज्ञवालीले बताए । उनका अनुसार कांग्रेसका एक पक्ष विरोधमा बसेका छन् । अधिकृत ज्ञवालीले विवादित वडाको अधिवेशन भोलि नै गराएर क्षेत्रीय अधिवेशन गराउने जानकारी दिए ।

यसअघि सोमबार दिउँसो पनि क्षेत्र–३ मा अधिवेशनका लागि विवाद भएको थियो । त्यहाँ दोस्रोपटक मतदान अधिकृत खटाउनुपरेको छ । माध्यमिक तहका शिक्षकलाई मतदान अधिकृत बनाएर खटाउने निर्णय गरिए पनि प्राथमिक तहका करार शिक्षक रामखेलावन साहलाई खटाइएपछि विरोध भएको थियो । विरोध पछि माध्यमिक शिक्षक नवराज थापालाई दोस्रो मतदान अधिकृतका रूपमा खटाइएको निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ ।

गुटगत विवादका कारण सर्लाहीले १४ औँ महाधिवेशनमा सहभागिता नजनाउने भएपछि केन्द्रको दबाबले अधिवेशन प्रारम्भ भएको स्रोतले जनाएको छ । जिल्लामा संस्थापन र इतर पक्षबीच सहमति जुट्न नसक्दा पालिका, प्रदेश र जिल्लाको अधिवेशन हुन नसकेको हो । प्रारम्भ क्षेत्रीय अधिवेशनले चारवटै क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सहसचिव र २४ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

कांग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालित छन् । जिल्लाको २० वटै पालिकाको २ सय वडामध्ये ३ वडामा नेतृत्व चयन हुन सकेको छैन । मंगलबार क्षेत्र–३ को एक वडामा अधिवेशनको विवाद समाधान भएपछि क्षेत्र–४ को दुईवटा वडाले मात्र महाधिवेशनमा सहभागिता जनाउने छैनन् । यस्तै क्षेत्र–२ को तीन वडामा देखिएको विवाद सोमबार निर्वाचनमार्फत टुंगो लगाइएको छ ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?