काठ बरामद हुन्छ, तस्कर भेटिँदैनन्

पक्राउ परेका पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो
शिव पुरी

रौतहट — रौतहटमा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ । वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् ।

काठ बरामद हुन्छ, तस्कर भेटिँदैनन्

अर्कोतर्फ पक्राउ परेका तस्करहरू पनि बरामद काठको बिगोअनुसार धरौटी राखेर छुटिहाल्ने वनका कर्मचारी बताउँछन् । उनीहरू फेरि पुरानै काममा संलग्न हुने गरेका छन्, जसका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा तस्करी हुन लागेको सालको काठ र सवारी नियन्त्रणमा लिएको छ । तर, त्यसअनुसार तस्कर भने पक्राउ पर्न सकेका छैनन् । तीन वर्षमा ६ सय ३७ क्युफिट तस्करीको काठ बरामद भएको वन कार्यालयको तथ्यांक छ ।

सोही अवधिमा विशेष गरी काठ तस्करीमै प्रयोग गर्न मोडिफाइ गरिएको साइकल मात्र २ सय ५१ वटा नियन्त्रणमा लिइएको छ । यस्तो साइकलमा गोलिया लोड गरेर एकै व्यक्तिले तस्करी गर्न सक्छ । पछिल्लो समय काठ तस्करीको लागि मोडिफाइ साइकलको प्रयोग बढिरहेको छ । तर, तीन वर्षमा २३ जना मात्र साइकल चालक तस्कर पक्राउ परेका छन् ।

साइकल मात्र नभई पछिल्ला ५ वर्षमा वन कार्यालयले तस्करीमा प्रयोग भएको १ सय ६ वटा टायर गाडा, १६ वटा ट्र्याक्टर, ३ वटा जिप, ३१ वटा मोटरसाइकल, टेम्पो ३, मिनिबस १ र पिकअप १ वटा नियन्त्रणमा लिएर कारबाही गरेको छ । तर, सवारीको तुलनामा पक्राउ पर्ने तस्करको संख्या न्यून छ । पछिल्लो समय साइकलमा काठ चोर्ने समूह दिउँसै सक्रिय हुँदै आएको छ । उनीहरूको साइकल नियन्त्रणमा लिए पनि मानिस फेला पर्दैनन् । यही कारण वनको चौतर्फी आलोचना भइरहेको छ । जंगलबाट काठ लोठ गरेर आउँदै गर्दा हतपत्त भाग्नै नसक्ने स्थानीयको भनाइ छ ।

वन कर्मचारी भने आफूहरूलाई देख्नेबित्तिकै काठ र सवारी छाडेर तस्कर भाग्दा पक्राउ गर्न नसकिएको सहज उत्तर दिएर पन्छिन्छन् । डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादव गस्ती र वन कर्मचारी देख्नासाथ तस्कर भाग्ने गरेको दाबी गर्छन् । ‘हामीले भेट्टाएसम्म मानिस पक्राउ गर्दै आएका छौं । तस्कर भाग्नुमा वन कर्मचारीको केही दोष हुँदैन,’ उनले भने, ‘वन क्षेत्रमा भाग्दै गरेको अवस्थामा टाढासम्म लखेट्नु सुरक्षाको कारणले पनि जोखिम हुन्छ ।’

नियन्त्रणमा लिइएका साइकलदेखि अन्य सवारीसाधन पनि वन कार्यालय परिसरमै अलपत्र खिया लागेर काम नलाग्ने भएको छ । तिनीहरूको लिलामी हुन सकेको छैन । अदालतको मुद्दा प्रक्रिया ढिला भएकाले सवारीको लिलाम गर्ने वा अन्य प्रक्रिया जाने भन्नेमा अन्योल रहेको सहायक वन अधिकृत रामप्रसाद साहले बताए । ‘अदालतबाट मानिस छुटिहाल्छ । तर सवारी र काठको मुद्दा टुंगो लाग्दैन,’ उनले भने, ‘धेरै सवारीहरू अव कामै नलाग्ने भएका छन् ।’

प्रकाशित : मंसिर २०, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?