कांग्रेस प्रदेश २ अधिवेशन उद्घाटन गरेर स्थगित- प्रदेश २ - कान्तिपुर समाचार

कांग्रेस प्रदेश २ अधिवेशन उद्घाटन गरेर स्थगित

निर्वाचनमा सहभागी हुने प्रतिनिधि र मतदाताको टुंगो लागेन
सन्तोष सिंह, ओमप्रकाश ठाकुर

धनुषा, सर्लाही — नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । सर्लाहीमा वडा अधिवेशन नै नभएको र अन्य केही जिल्लाबाट मतदाता नामावली नआएका कारण शुक्रबार प्रतिनिधिहरूको उम्मेदवारी दर्ता रोकिएको निर्वाचन संयोजक रमेश रिजालले बताए । 

‘सम्भव भएसम्म सबैलाई अधिवेशनमा सहभागी गराउने प्रयास गरेको छु,’ रिजालले भने, ‘सर्लाहीमा वडा अधिवेशनका लागि प्रयास भइरहेको छ । अन्तिम समयसम्म सर्लाहीबाट सहभागी गराउने प्रयास गर्दै छु । सम्भव नभए त्यहाँका प्रतिनिधि छोडेर भए पनि प्रदेश अधिवेशन हुनेछ ।’ उनका अनुसार संवैधानिक समस्याका कारण केन्द्रीय महाधिवेशन अघि नै प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ । विवादका कारण सर्लाहीमा वडा अधिवेशनसमेत हुन सकेको छैन । अधिवेशन गराउन खटिएका तीन जना निर्वाचन अधिकृत सर्लाही छाडेर हिँडेपछि त्यहाँ निर्वाचन गराउन सकस छ ।

प्रदेश अधिवेशनका लागि प्रदेश २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरीका मतदाताको नामसमेत आइसकेको छैन । अधिवेशनमा सहभागी हुने प्रतिनिधि र मतदाताको टुंगो नलाग्दै उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको हो । कांग्रेसको प्रदेश अधिवेशन जनकपुरको गोपाल धर्मशालामा गर्ने तयारी छ । निर्वाचन समितिले पूर्वनिर्धारित निर्वाचन तालिका हेरफेर गरेपछि उम्मेदवारी दर्ताका लागि पुगेका मतदाता अन्योलमा परेका छन् ।

कांग्रेस प्रदेश २ को सभापति पदका लागि चारजना उम्मेदवार खुलेका छन् । चारैजना सभापति देउवानिकटका छन् । संस्थापन गुटमा रहे पनि चारैजना उपसभापति विमलेन्द्र निधिनिकट हुन् । निधिले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री एवं धनुषाका पूर्वसभापति रामसरोज यादवलाई सभापतिमा साथ दिने भएपछि अन्य उम्मेदवारको गुट भने प्रष्ट हुन सकेको छैन । मन्त्री यादवले एक साताअघि नै उम्मेदवारीको घोषण गरी प्रचारप्रसारमा लागेका छन् । यादवले प्यानल भने बनाउन सकेका छैनन् ।

कांग्रेस रौतहटका सभापति कृष्णा यादवले शुक्रबार प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका सभापति महेन्द्रकुमार रायले पनि सभापतिको उम्मेदवार बन्ने जनाएका छन् । प्रतिनिधि र मतदाताको नाम टुंगो नलाग्दा सभापतिमा खुलेका उम्मेदवारले प्यानल बनाउन सकेका छैनन् । धनुषाबाट उपसभापतिमा प्रफुल्लराज घिमिरेले समेत उम्मेदवारी घोषणा गरेका छन् । प्यानलमा नाम पार्न प्रयासरत घिमिरेले सर्लाहीलाई समेत समावेश गरी प्रदेश अधिवेशन गर्नुपर्ने बताए । प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा गरेका घिमिरे पनि निधिनिकट हुन् ।

जिल्लाका कार्यकर्तालाई प्रदेश अधिवेशनमा सहभागी नगराउँदा आगामी निर्वाचनमा प्रत्यक्ष असर पर्ने भएकोले सबैलाई समेटेर प्रदेश अधिवेशन गराउनुपर्ने उनको तर्क छ । सर्लाहीमा वडा, पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा, क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिसमेत चयन रोकिएको छ । पर्सा र सप्तरीमा समेत प्रतिनिधि छनोट प्रक्रियामा विवाद छ । निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदानको समय तोकेको छ ।

सर्लाही अधिवेशनको जिम्मा ज्ञवालीलाई सर्लाहीमा कांग्रेस अधिवेशन गराउन चौथो पटक निर्वाचन अधिकृत खटाइएको छ । यसअघि तीन पटक खटाइएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसक्ने भन्दै फर्किएका थिए । कांग्रेसको जिल्ला निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिले चौथो निर्वाचन अधिकृतका रूपमा अरुणकुमार ज्ञवालीलाई खटाएको छ ।

ज्ञवालीलाई धनुषाको अधिवेशन सकेपछि सर्लाहीको पनि जिम्मा दिइएको छ । उनले बिहीबार अबेर रातिबाटै निर्वाचनका लागि नयाँ टिम परिचालन गरिसकिएको जानकारी दिए । निर्वाचनमा खटिएका टोलीले शुक्रबार बिहानैबाट प्रतिस्पर्धी दुवै पक्षसँग आवश्यक छलफलमा जुटिरहेको जनाएको छ ।

अधिकृत ज्ञवालीले शुक्रबार रोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शनिबारका लागि गर्ने भनेर छलफल भइरहेको जानकारी दिए । निर्वाचन टोलीले वडामा देखिएका विवादको बारेमा पनि छलफल गरिरहेको छ । ‘निर्वाचन टोली परिचालन भइसकेको छ, दुई पक्षबीचको विवाद पनि मिलाउने प्रयास हुँदै छ,’ उनले भने, ‘सहमति भए रोकिएको केन्द्र र प्रदेश प्रतिनिधिको निर्वाचन शनिबार हुनेछ ।’

गुटगत राजनीतिले प्रश्रय पाएपछि निर्वाचन गर्न कठिनाइ भएको यसअघिका निर्वाचन अधिकृतहरूले बताएका थिए । उनीहरूले दुई पक्षबीचको दबाब थेग्न नसकेर फर्केको जनाएका छन् । पहिलो पटक खटिएका निर्वाचन अधिकृत विनोद कार्कीले निर्वाचनको प्रक्रिया नै अगाडि नबढाई फर्किएका थिए ।

दोस्रो पटकका लागि खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डे निर्वाचन स्थानको विवादमै रुमल्लिए । उनले सहमति तोडेको भन्दै कार्यकर्ताबाट कुटाइसमेत खाए । तेस्रो पटकका लागि खटिएका निर्वाचन अधिकृत भरत राउतले वडाको निर्वाचन गराउन पहल गरे । अधिकांश वडाको निर्वाचन पनि सम्पन्न भयो ।

तर, केही वडाको विवाद उनले पनि थेग्न सकेनन् । वडाको निर्वाचनमा गोलीसमेत चल्यो । जसका कारण उनी पनि कसैलाई थाहै नदिई फर्किए । सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्रकुमार राय र इतरपक्षका पूर्वजिल्ला सभापति लक्ष्मण रायबीचको विवाद छ । जसको असर निर्वाचनमा परिरहेको छ । दुई पक्षको विवादका कारण क्षेत्र ४ मा गोलीसमेत चलेको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम प्रदेशको सान

कान्तिपुर संवाददाता

काठमाडौँ — हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई निर्णायक खेलमा ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमले आइतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

राउन्ड रोबिनको अन्तिम खेल दुवै टोलीका लागि फाइनल पुग्न उतिकै महत्त्वपूर्ण थियो । सुदूरपश्चिमलाई जितले मात्र पनि उपाधि भिडन्तमा पुर्‍याउँथ्यो भने वाग्मतीलाई फाइनल पुग्न ठूलो अन्तरको जित हात पार्नुपर्थ्यो । सुदूरपश्चिमले वाग्मतीलाई धेरैबेर टिक्न दिएन र ६ खेलमा चौथो विजय हात पार्दै राउन्ड रोबिन लिगमा दोस्रो हुँदै फाइनल पुगेको हो । वाग्मती २ खेलमात्र जित्न सकी सात प्रदेश सहभागी प्रतियोगितामा पाँचौं स्थानमा रह्यो ।

हेमन्तले ५ विकेट लिएपछि ब्याटिङ निम्तो पाएको वाग्मती त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३०.१ ओभरमा ९५ रनमै अलआउट भयो । एकै स्पेलमा १० ओभर बलिङ गरेका हेमन्तले १० ओभरमा ४ मेडन राख्दै १९ रन खर्चेर वाग्मतीको झरेको सुरुकै ५ विकेट लिए । शेर मल्लले ५.१ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । चौथो नम्बरमा ब्याटिङ गरेका विवेक रानामगर ७५ बलमा ४ चौकासहित ३२ रनमा अविजित रहे । क्रिस कार्कीले १७ रन बनाए ।

कप्तान खडक बोहरा ५ र वसन्त कार्की ११ रनमा आउट भए पनि सुदूरपश्चिमले २३.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । ओपनर नरेन भट्ट ५८ बलमा ६ चौका प्रहार गरी ३७ र राहुल भण्डारी ३९ बलमा ५ चौका प्रहार गरी ३१ रनमा अविजित रहे । वाग्मतीका कप्तान प्रतिश जिसी र गौतम केसीले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×