सधैं डाइभर्सनकै भर- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सधैं डाइभर्सनकै भर

७ वर्षसम्म पुल नबन्दा लालबकैया नदी वारपार गर्न हिउँदमा डाइभर्सन बनाउनै पर्ने बाध्यता, बर्खामा भेलले बगाइदिँदा बर्सेनि लाखौं खर्च
शिव पुरी

रौतहट — गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लालबकैया नदीमा सवारी साधन वारपार गराउन यस वर्ष पनि माटोले पुरेर ह्युमपाइप राखी डाइभर्सन बनाइएको छ । हरेक वर्ष बाढीले डाइभर्सन बगाउँछ । डाइभर्सन निर्माणमा ईशनाथ नगरपालिकाले बर्सेनि रकम खर्च गर्छ । तर यो स्थायी हुँदैन ।

लालबकैया नदीमा पप्पु कन्स्ट्रसनले पुल निर्माणको काम थालेको थियो । तर बीचैमा अलपत्र छाडेपछि आवतजावतमा डाइभर्सनकै भर छ ।

पुल नभएपछि वर्षायाममा डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता छ । हिउँदमा जलस्तर घट्ने भए पनि पैदलै वारपार गर्न भने सकिँदैन । पछिल्लो ४ वर्षयता नगरले पटक–पटक नदीमा डाइभर्सन बनाएको छ । यसका लागि बर्सेनि ५ लाख रुपैयाँभन्दा बढी खर्चसमेत भइरहेको छ । तर भेल आएपछि डाइभर्सन बगाउने गरेका कारण समस्या भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गुनासो गरे । ‘डाइभर्सन नहुँदा नगरवासीलाई सदरमुकाम गौर जान झन्डै २५ किलोमिटर घुम्नुपर्छ । अब ७ किलोमिटर पार गरेपछि १०/१५ मिनेटमै पुगिन्छ,’ उनले भने, ‘भारतदेखिका मानिस यही डाइभर्सन हुँदै सदरमुकाम जान्छन् ।’

अहिले नदीका विभिन्न स्थानमा माटो भरेर, ह्युमपाइप राखेर पानीको निकास निकाली अग्लो बाटो बनाइएको छ । त्यही बाटो हुँदै पैदल यात्रु, मोटरसाइकल, साइकल, ट्र्याक्टरलगायत सवारीसाधन ओहोरदोहोर गर्छन् । लालबकैयापारिका १९ गाउँका मानिसलाई डाइभर्सन बनेपछि निकै सहज भएको अधिकृत गुप्ताको दाबी छ । ‘डाइभर्सन नबनाई हुँदैन । यहाँ सर्पदंशका धेरै बिरामी हुन्छन् । उनीहरूलाई लामो बाटो घुमेर सदरमुकाम पुग्न कठिन हुन थालेको थियो । वर्षाको बेला बगाए पनि हिउँदमा बनाउनै पर्ने बाध्यता छ,’ उनले थपे ।

ईशनाथको बन्जाराहा हुँदै भारतको चनपुर, ढाका, गुरनवालगायतका मानिस यही बाटो प्रयोग गर्छन् । नगरपालिकाले लाखौं खर्चेर डाइभर्सन बनाए पनि त्यो टिकाउ नभएको र रकम पनि उत्तिकै खर्च भइरहेको इशनाथका नगर सदस्य गृशनन्दन सिंहले सुनाए । ‘नगरपालिकाले जथाभावी खर्च गर्न थालेको छ । बाटो बनाउनु छ भने बलियो र दीर्घकालीन बनाउनु नि,’ उनले भने, ‘हिउँदमा ५ लाख खर्च गर पनि बर्खामा भेलले बगाउँदा फेरि उस्तै हुन्छ । अनि प्रत्येक वर्ष नदीमा पैसा बगाएर के फाइदा ?’

लालबकैया नदीमा समयमा पुल नबन्दा स्थानीयले समस्या झेल्नुपरेको हो । २०७१ मा पप्पु कन्स्ट्रक्सले त्यहाँ पुल निर्माणको काम सुरु गरेको थियो । ७ बर्ष बितिसक्दा पनि पुलको काम सकिएको छैन । वर्षायाममा निर्माणधीन पुलछेउबाटै डुंगा चढेर स्थानीय वारपार गर्छन् । पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खापलगायत दर्जनौ गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा बाध्यात्मक बनेको इशनाथ नगर प्रमुख सन्तोष मेहताले बताए ।

पुल नबनेकै कारण २०७५ गत भदौ ९ मा लालबकैयामा डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनापछि निर्माणको काम थाल्न चौतर्फी दबाब खेपेको निर्माण कम्पनिले चाँडै सक्ने मौखिक प्रतिबद्धता जनाएको थियो । त्यसपछि केही समयसम्म काम पनि भयो । तर केही समयमै कामदार फिल्डबाट गएका वडाध्यक्ष भवनेश्वर शाहीले सुनाए । अहिलेसम्म पुलको भौतिक प्रगति ६५ प्रतिशत रहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाख रुपैयाँको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान भएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम अर्थात् १४ करोड ९३ लाख रुपैयाँमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण सक्ने भन्दै २०७१ असार २९ मा पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा निर्माण सक्नुपर्थ्यो तर अहिलेसम्म पुल बन्न सकेको छैन ।

प्रकाशित : मंसिर १७, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

तंग्रिँदै कर्णालीको पर्यटन

ज्योति कटुवाल

सुर्खेत — कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसान बनेका कर्णालीका पर्यटकीय स्थलमा चहलपहल सुरु भएको छ । पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्यसमेत पर्यटक आउन थालेपछि होटल व्यवसायीहरूसमेत उत्साही बन्दै गएका छन् । मुगुको रारा कर्णालीकै मुख्य पर्यटकीय गन्तव्य हो ।

कोरोनाको प्रभाव कम भएपछि स्वेदशी मात्रै होइन, विदेशी उच्च ओहोदाका व्यक्तिहरू पनि पर्यटकका रूपमा रारा पुग्न थालेका छन् । मंसिर सुरुवातमै अमेरिकी राजदूत रेन्डी बेरी, अस्टेलियन राजदूत फिलिसिटी भोल्कलगायतले रारा भ्रमण गरे । कोरोनापछि रारामा विदेशीको पहिलो भ्रमण भएको मुगुका स्थानीय बताउँछन् । मुगुका स्थानीय प्रकाश शाहीले अहिले दैनिक १५ देखि २० वटा गाडीमा रारा घुम्न आउने गरेको बताए । काठमाडौंबाट सिधै सुर्खेत भएर कर्णालीका जिल्लामा हवाई यातायात नभएकाले नेपालगन्ज हुँदै हवाईमार्गबाट त्यहाँ पुगेका राजदूतहरू तीन मुगुमै बास बसे ।

राराबाहेकका कर्णालीका पर्यटकीय स्थलहरूमा पर्यटक आवागमन बढ्दै गएको छ । डोल्पाको शे–फोक्सेन्डो तालमा उत्तिकै पर्यटकहरू पुग्ने गरेका छन् । हेलिकोप्टर रिजर्भ गरेर पयटकहरू दैनिक पुग्ने गरेको पाइएको छ । हुम्लाको लिमी क्षेत्र, जुम्लाको सिञ्जा, दैलेखको पञ्चदेवल, गढी, पञ्चकोसी, दुल्लुलगायत पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप दैनिक बढेको छ ।

प्रदेश राजधानी सुर्खेतका मुख्य पर्यटकीय स्थलहरू काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै, सल्यानको कुपिन्डे ताल पनि पर्यटकको रोजाइमा परेको पर्ने गर्छन् । पर्यटकहरूको आवागमनले पर्यटकीय क्षेत्र, आसपास र उक्त खण्डका होटल व्यवसायहरूको चहलपहल बढिरहेको छ । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले कोरोनाले शिथिल पारेको पर्यटन क्षेत्र र होटल व्यवसायहरू तंग्रिँदै गएको बताए ।

मंसिर पहिलो साता अध्यक्ष शाहीसहित एनआएनका पूर्वअध्यक्ष जीवा लामिछाने र उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष चन्द्र ढकाल पनि रारामा कुन क्षेत्रमा लगानी गर्दा उपयुक्त हुन्छ भन्दै सम्भाव्यता अध्यनन गरेर फर्किएका छन् । ‘केही वर्षपहिले ४ बिघा जमिन लिइसकेको थिएँ,’ अध्यक्ष शाहीले भने, ‘पर्यटकीय स्तरको होटल छिटै सञ्चालन हुन्छ ।’ ढकाल र लामिछानेले भने रारामै पर्यटन, जलस्रोत र उद्योगलगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंका व्यवसायीको साझेदारीमा यहाँका व्यवसायीले रारामा विभिन्न उद्योगहरू सञ्चालन गर्ने भएका छन् । सुर्खेतका ठूला होटलहरूमा पनि चहलपहल बढेको छ । शुभ, सिद्धार्थ, भ्याली भ्यु, नमस्ते नेपाल, डि नमस्ते सुर्खेतका ठूला होटलमा मानिन्छन् । नमस्ते नेपालका सञ्चालक निरन्जन केसीले कोरोनाको प्रभाव कम भएलगत्तै पर्यटकहरूको आगमनले होटलमा चहलपहल बढ्दै गएको बताए । असोज र कात्तिकमा मात्र त्रिवेणी एड्भेन्चर प्रालीले हेली र प्लेनबाट रारामा ८० पर्यटकलाई भित्र्याएको थियो । उसले स्कार्पियो र अन्य साना गाडीमा झन्डै १ सय ५० जनालाई रारामा पुर्‍याएको थियो । उक्त प्रालिका प्रमुख मनराज सिंखडाले पर्यटकलाई समयमा हेलिकोप्टर, जहाज र स्रोतसाधन उपलब्ध गराउन नसकेको बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×