१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विवाद बढ्दा पचतौरा नगरपालिका एक महिनादेखि ठप्प

लक्ष्मी साह

बारा — स्थानीय विद्यार्थीहरूको आन्दोलनका कारण बन्द भएको पचरौता नगरपालिकाको काम एक महिनायता प्रभावित भएको छ । गत कात्तिक ९ गते पचरौता उच्च माविका विद्यार्थीहरूले नगरपालिका कार्यालय तोडफोड गरेपछि कार्यालय बन्दै रहँदैआएको छ ।

शिक्षक पदपुर्ति गर्नुपर्ने, ल्याब र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै पालिकासँग माग राख्दा माग पूरा नभएपछि उनीहरूले पालिका कार्यालय तोडफोड गरेका थिए । त्यस क्रममा प्रहरी र विद्यार्थीहरूबीच झडपसमेत भएको थियो ।

तर घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट तीन सदस्यीय छानबिन समिति बने पनि टुंगोमा पुग्न नसक्दा पालिकाका कर्मचारीहरूले स्थानीय एक सामुदायिक भवनमा बसेर अस्थायी हाजिरी बनाउँदैआएका छन् ।

एकपछि अर्को विवादका कारण नगरपालिकाको काम प्रभावित हुँदैआएको छ । २ वर्षअघि नै यस नगरपालिकामा अस्पताल बनाउने विषयमा विवाद चुलिंदा मेयर र विपक्षीबीचको झडपले उग्ररुप लिएको थियो । जुन विवाद अझै सेलाएको छैन ।

यसवाहेक पालिकाको अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरीसमेत परेका छन् । कर्मचारीमाथि बलात्कार आरोप, भ्रष्टाचार, राजनीतिक विवाद लगायत झमेलाले गर्दा नगरपालिकाको काम प्रभावित बन्दैआएको हो ।

यसैबीच मेयर र उपमेयरबीच विवाद त मन्त्रालयसम्मै पुगेको छ । मेयरले बहुमतको दम्भमा मनोमानी गरेको भन्दै उपमेयर इन्दुदेवी यादवले सार्वजनिक रुपमै विरोध गर्दैआएकी छन् ।

पालिकाको काम प्रभावित भइरहँदा मेयर रमेश यादव पछिल्लो समय कार्यालयमै आउन छाडेका छन् । प्रमुख प्रशासकीय अधिकृत श्याम यादवका अनुसार केही दिनदेखि मेयर यादव सम्पर्कमा नै छैनन् ।

प्रकाशित : मंसिर १६, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?