नगरपालिकाभित्रै कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकाभित्रै कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी

लक्ष्मी साह

बारा — २२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालयभित्रै गत बिहीबार यस्तो प्रयास भएको बताइएको छ ।

पीडित महिलाका आफन्तका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् । महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।

पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आफैँ बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् ।

साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको पीडित पक्षले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’

प्रकाशित : मंसिर १४, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैनिक तालिम सकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक तालिम ‘अभ्यास टेक नेल–२२’ मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको उक्त तालिम मंगलबार छाउनीमा आयोजित कार्यक्रममा समापन गरिएको हो ।

तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको डिजास्टर एसेसमेन्ट एन्ड रेस्पोन्स टिमबाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी ४९ जनाको उपस्थित रहेको थियो । तालिममा अमेरिकी सेनाका १७ सहित ६६ जनाको सहभागिता थियो । संयुक्त तालिम काठमाडौं, पोखरा र अन्नपुर्ण वेस क्याम्प इलाकामा सञ्चालन भएको थियो ।

तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको नेपाली सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मंसिर ११ गते पोखरामा सञ्चालन भएको कुल्मिनेटिङ अभ्यासको बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गरेका थिए ।

‘यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

समापन कार्यक्रममा बलाध्यक्ष रथी सरोज प्रताप राणा, अमेरिकी राजदूत र्‍यान्डी बेरी, सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायतको उपस्थिती थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×