कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कांग्रेस अधिवेशनमा मन्त्रीका अंगरक्षकको ‘आतंक’

मतदान अधिकृतसहित चार प्रहरी र आधा दर्जन कार्यकर्ता घाइते
ओमप्रकाश ठाकुर

सर्लाही — नेपाली कांग्रेसको वडा अधिवेशनस्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार फेरि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित चार प्रहरी र आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । बलरा नगरपालिका–८ गडहियामा कांग्रेसको संस्थापनइतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा र संस्थापन पक्षले विद्यालयमा लैजान खोजेको थियो ।

कांग्रेस अधिवेशनमा मन्त्रीका अंगरक्षकको ‘आतंक’

त्यसक्रममा झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा कार्यकर्ताले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । कांग्रेस कार्यकर्ताको आक्रमणका कारण मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै प्रहरी निरीक्षक सुरेश ठाकुरसहित चान जना प्रहरी पनि घाइते भएको जिल्लाका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘विवाद भएपछि कांग्रेसको एक पक्षले जबर्जस्ती मतदान अधिकृतलाई लान खोज्दा प्रहरीले रोक्यो, त्यसक्रममा उनीहरूले ढुंगामुढा गर्न थाले,’ उनले भने, ‘केही राउन्ड अश्रुग्यास प्रहार गरेपछि स्थिति नियन्त्रणमा आएको छ ।’

प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरी आफ्ना कार्यकर्तालाई घाइते बनाएको त्यस क्षेत्रका संघीय सांसद अमरेशकुमार सिंहले आरोप लगाए । ‘प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक रूपमा बल प्रयोग गरेर घाइते बनाएको छ,’ उनले भने, ‘यसको परिणाम राम्रो हुनेछैन ।’ यसअघि आइतबार पनि बलरा–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउन्ड हवाई फायर गरेका थिए ।

मन्त्रीका अंगरक्षकको ‘आतंक’

सर्लाही कांग्रेसको वडा अधिवेशनको विवादमा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षक (सुरक्षागार्ड) ले आफ्नो अधिकार क्षेत्र मिचेर तीन पटक पेस्तोलको दुरुपयोग गरेका छन् । मन्त्री सिंहको सुरक्षामा खटिएका प्रहरीले पार्टीको सामान्य विवादमा पनि पेस्तोल ताकेर आतंक मच्चाएका हुन् । गार्डको यो रवैयाले विवाद मत्थर हुनुको साटो झन् उग्र बन्दै आएको छ ।

पार्टीको आन्तरिक विवादमा पनि गार्डले पेस्तोल तेर्स्याउन थालेपछि सर्लाहीका दुई स्थानमा झडपसमेत भइसकेको छ । सर्लाहीको क्षेत्र ४ ‘क’ बाट निर्वाचित प्रदेश मन्त्री सिंहको सुरक्षामा नेपाल प्रहरीको एक हवल्दार र एक प्रहरी जवान खटिएका छन् । उनीहरूलाई राज्यले भीआईपीको सुरक्षाका लागि एक थान पेस्तोलसमेत दिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा ‘एग्रेसिभ’ मानिएका मन्त्री सिंहसँगै उनको सुरक्षाका लागि खटिएका हवल्दार रामचन्द्र खंग केही शालीन देखिए पनि अर्का गार्ड प्रहरी जवान रामचन्द्र महतो भने उग्रता प्रदर्शन गरिरहेका छन् । महतो मन्त्रीभन्दा झन् एग्रेसिभ छन् । मन्त्रीको सुरक्षा सहयोगीमा खटिएका महतोले सामान्य विवादमा पनि पेस्तोल निकाल्ने र हवाई फायर खोल्ने गरेका छन् ।

आइतबार सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको वडा अधिवेशनको छलफल चलिरहेको समयमा मन्त्री सिंह आफ्ना अंगरक्षकसहित अचानक पुगे । छलफलकै क्रममा उनले असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद सुरु भयो । त्यसै क्रममा मन्त्रीका अंगरक्षक महतोले एक राउन्ड हवाई फायर गरे । पार्टीको आन्तरिक छलफलमा अंगरक्षकले हवाई फायर खोलेपछि विवाद झन् बढ्यो । केहीबेर हातपातसमेत भयो । पछि थप प्रहरी पुगेर विवाद मत्थर पारे । त्यस क्रममा मन्त्री सिंहका अंगरक्षकसहित दुई जना घाइते भए । गोली चलेकै कारण त्यहाँको वडा अधिवेशन रोकियो ।

यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा छलफल चलिरहेको समयमा दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले संस्थापनइतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताक्दा झडप भएको थियो । दुई साताअघि पनि पार्टी कार्यालय अगाडि दुई पक्षबीचको भनाभन हुँदा मन्त्रीका गार्डले पेस्तोल निकाल्न खोजेका थिए । त्यहाँ उपस्थित सञ्चारकर्मी र उनकै पक्षका नेताले हप्काएपछि त्यहाँबाट हिँडे ।

पार्टीको सामान्य विवादमा पनि मन्त्री सिंह उत्तेजित हुने र उनका अंगरक्षकले पेस्तोल निकाल्ने काम पटक–पटक गर्दै आएको संस्थापन इतरपक्षका नेता लक्ष्मण रायलले बताए । ‘पार्टीको समान्य विवादमा मन्त्री आउनै हुन्न । आए पनि आनो ओहोदाको ख्याल गर्नुपर्छ, तर उनले यो कुराहरूमा ख्याल राखेको देखिँदैन,’ उनले भने, ‘सामान्य विवादमा पनि एग्रेसिभ हुनु र गार्डले पेस्तोलको बोली बोल्न खोज्नुले पार्टीलाई लज्जित बनाउने काम गरेको छ ।’

सर्लाहीको क्षेत्र–४ पहिलादेखि नै विवादित हो । त्यहाँबाट संघ तथा प्रदेशमा निर्वाचित अधिकांश प्रतिनिधिले आनो रवाफ देखाउने काम गर्दै आएका छन् । यहाँ जसको रवाफ बढी देखियो त्यही नेता बलिया मानिँदै आएको छ । त्यही क्रममा मन्त्री सिंहले पनि आफूलाई उभ्याएको नागरिक अगुवा रजनीकान्त झा बताउँछन् । ‘सामान्य विवादमा पनि मन्त्रीका सुरक्षागार्डले गोली ताक्ने तथा पड्काउने काम गरेको देख्दै र सुन्दै आएका छौं, जसले जिल्लामा तनाव सिर्जना गरेको छ,’ उनले भने ।

मन्त्री सिंहले भने गोली चलाउने स्थिति बनेपछिमात्र पीएसओले गोली चलाएको दाबी गरे । ‘कतिपय अवस्थामा आफ्नो र मेरो ज्यानको सुरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यता आइपरेको छ,’ मन्त्री सिंहले भने । बैठक चलिरहेको समयमा यसअघिका निर्वाचन अधिकृतमाथि हातपात हुन थालेपछि पीएसओले पेस्तोल झिकेको उनले दाबी गरे । ‘पीएसओले गोली चलाउनुपर्ने बाध्यता आइलागेको छ, अन्यथा केही पनि हैन । उनीहरू सरल स्वभावका नै छन्,’ उनले भने, ‘उनीहरूले गोली नचलाएको भए अवस्था केही फरक हुने थियो ।’

प्रकाशित : मंसिर १४, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?