१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठ तस्करीमा ‘मोडिफाइ’ साइकल

शिव पुरी

रौतहट — एक साताअघि प्रहरीको गस्ती टोलीले कटहरिया नगरपालिका–१ तल्लोखोरस्थित जंगलबाट ३ वटा साइकलमा ४ थान अवैध सालको गोलिया नियन्त्रणमा लियो । साइकलको हुलिया हेर्दा भने प्रहरी नै आश्चर्यमा परे ।

काठ तस्करीमा ‘मोडिफाइ’ साइकल

साइकललाई नै ‘मोडिफाइ’ गरेर उनीहरुले काठ तस्करी गर्दै आएका थिए । प्रहरीलाई देखेपछि काठ तस्कर भागे । बरामद काठ प्रहरीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएको छ । वनले काठ तस्कर पत्ता लगाउन सकेको छैन ।

दुई दिनअघि वनको गस्ती टोलीले जंगलसहिया साझेदारी वन क्षेत्रबाट ५ वटा साइकलसहित सालको गोलिया बरामद गरेको छ । वन टोलीले स्वरुप बदलेको साइकलमा काँचो सालको गोलिया लोड गरेर ल्याउँदै गर्दा घेरा हाली नियन्त्रणमा लिएको थियो । टोलीलाई देख्नासाथ तस्कर साइकल छाडेर फरार भए । तस्करले छाडेको ५ वटा साइकल र ३ थान गोलिया नियन्त्रणमा लिएको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले बताए ।

‘साइकलको हुलिया बदलेर काठ चोर्नमा प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘जतिसुकै कडाइ गरे पनि साइकल तस्कर हावी हुन छाडेको छैन । उनीहरूको सञ्जाल तोड्न वन लागिपरेको छ ।’ डिभिजन वनले पछिल्लो दुई वर्षमा सालको गोलिया लोड गरेर ल्याउँदै गरेको झण्डै ५ सय वटा साइकल बरामद गरेको छ । मानिसले सवारीसाधनको रुपमा प्रयोग गर्ने साइकलको स्वरुप बदलेर ठुल्ठुला काठ लोड गरेको देख्दा अचम्म लागेको निमित्त वन प्रमुख यादवले सुनाए । सुरुमा काठ तस्करले टायर गाडा प्रयोग गर्थेर् । गोरु, पाडाले तान्ने हुनाले वनले धमाधम पक्रन थालेपछि बलेरो जिप, ट्रयाक्टर, इ–रिक्सा, अटो र ट्रक प्रयोग गर्न थाले । त्यो पनि पक्राउ पर्न थालेपछि पछिल्लो समय भारतीय चोरीको जिप प्रयोग गरि काठ तस्कर गर्न थालेको पाइएको थियो ।

सुराकीको माध्यमबाट वनले त्यस्ता सबारी पनि पक्रन थालेपछि अहिले साइकलको स्वरूप बदलेर काँचो सालका गोलिया ओसारपसार गर्न थालेका हुन् । वन वा सुरक्षाकर्मीले साइकल बरामद गरिहाले तस्करलाई खासै क्षति नहुने हुँदा यस्तो नीति अपनाउन थालेको वन अधिकारीको बुझाई छ । ठुला सबारी पक्राउ पर्दा लाखौको क्षति हुने तर साइकल छाड्दा ४/५ हजार मात्र डुब्ने हुँदा तस्करले यस्को प्रयोग गर्न थालेको वनका कर्मचारी बताउँछन् । नयाँ साइकललाई धेरै समय लगाएर स्वरुप बदली तस्करीमा प्रयोग गर्न थालेको ५ बर्ष बढी भइसकेको छ । तर नियन्त्रणमा गर्न सकेको छैन् । यो झनै बढेको बनकै कर्मचारीहरू बताउँछन् ।

बजारबाट नयाँ साइकल किनेर स्वरुप बदल्ने र रातभर जंगलमा लगेर गोलिया ओसारपसारमा प्रयोग गर्न थालेको वनले फेला पारेको हो । स्वरुप बदलेपछि साइकलमा मानिस चढेर हिड्न मिल्दैन् । एउटा साइकलको बजार मुल्य ४/५ हजार रुपैयाँसम्म पर्छ । त्यसलाई स्वरुप बदल्न १ हजार रुपैयाँ जति थप लाग्छ । वनले ४ दिनअघि चन्द्रपुर–९ स्थित स्थानीय चिरान मिलबाट साइकल तस्करले बेचेको गोलिया पनि बरामद गरेको थियो । मिलबिरुद्ध वनले अनुसन्धान सुरु गरेको निमित्त वनप्रमुख यादबले जानकारी दिए ।

साइकलको पायडल माथिको बीच भागलाई गोलो कडा फलाम राखेर वेल्डिङ गरी घुमाइन्छ । त्यहीभित्र गोलिया लोड गरिन्छ । यसो गर्दा दुईजनाले ठूलठूला काठ साइकलमा लोड गरेर लैजान सजिलो हुन्छ । वनका अनुसार बरामद गरिएको ठूलो परिमाणका साइकल अहिले वन कार्यालयको कम्पाउण्डमा राखिएको छ । ‘अहिले सबैभन्दा ठुलो चुनौती भनेकै साइकल तस्कर हो,’ उनले भने, ‘यिनलाई तह लगाउन सके चोरी नियन्त्रण हुन्छ ।’ वनले साइकल तस्करलाई नियन्त्रणमा लिने प्रयास गरेको जनाउँदै आए पनि सफल हुन भने सकेको छैन । चन्द्रनिगाहपुर, बृन्दावनको बलेरी, गुजराको चोचालगायत वनक्षेत्रमा गस्ती टोलीले यस्ता साइकल बरामद गरेको छ ।

वनले साइकलको स्वरूप बदल्ने स्थानको पहिचान गर्ने अभियान थाले पनि अहिलेसम्म फेला पार्न सकेको छैन । नयाँ साइकल ग्रील कारखाना र आइरनमा लगेर काठ चोर्न मिल्ने बनाउने गरेको वनले सुराकी पाएको दाबी गरेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?