१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विवाद दाइजोको, मुद्दा अपहरण

लक्ष्मी साह

बारा — दिनेश सहनी मलाहले जेठी छोरीको विवाह गरेको एक वर्ष पुग्यो । तीन सन्तानमध्ये एक मात्र छोरीको विवाह गर्न उनले साढे दुई लाख भारतीय रुपैयाँ दाइजो दिए । गत मंसिरमा भारतीय सीमावर्ती गाउँ (पारि) कोइरगाँवाका विक्रम सहनीसित छोरीको मागी विवाह गरिदिए । तर उनकी छोरीको विवाह भएको वर्ष दिनमै श्रीमान्सँग सम्बन्ध टुट्यो ।

कारण हो–उनका ज्वाइँ विक्रमले पटक–पटक गर्दै आएको पैसाको लोभ । विवाह भएदेखि विक्रमले ससुरालीबाट कहिले एक लाख, कहिले ५० हजार रुपैयाँ माग्थे । तर दिनेशले दाइजो दिएयता नगद दिएका छैनन् । पैसा नपाएको झोकमा विक्रम एक साथीसहित गत बिहीबार ससुराली घर महागढीमाई–६ पत्रहटी गाउँ (दिनेशको घर) मा पुगे । त्यतिन्जेल उनकी पत्नी (दिनेशकी छोरी) माइतमै थिइन् । उनी माइती आएको दुई साता भएको थियो । मदिरा सेवन गरेका विक्रमले १३ वर्षीय सालो सुशान्तलाई आफू चढेको मोटरसाइकलमा बसाएर साथीसित गाउँबाट केही परसम्म पुर्‍याए । त्यत्तिकैमा गाउँमा अपहरणको हल्ला चल्यो ।

त्यसपछि विक्रम मोटरसाइकलमा सालोसित अघिअघि र गाउँलेसहितका प्रहरी तिनको पछिपछि लागे । प्रहरी र गाउँले देखेर विक्रमले सालो सुशान्तलाई छाडेर भागे । तर प्रहरीले उनी र उनका साथीलाई नियन्त्रणमा लिइछाड्यो । र, अहिले विक्रमसहित उनका साथी मुन्ना साहलाई अपहरण मुद्दा दर्ता गर्दै अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

‘पटक–पटक पैसा माग गर्ने, तर्साउने, ज्वाइँको बानी परिसकेको थियो,’ दिनेशकी पत्नी श्रीपति देवीले भनिन्, ‘पैसा नपाएको झोकमा तर्साउनलाई छोरालाई जबरजस्ती उठाएर लान खोज्यो । अब हाम्रो सम्बन्ध रहँदैन । ज्वाइँ परोस् वा जोसुकै ।’ प्रहरीले अपहरण मुद्दा हालेर ठीक गरेको उनले बताइन् ।

विक्रमले सुशान्तलाई हतारमा फाल्दा उनको टाउको, हातखुट्टामा चोट लागेको छ । अपहरण मुद्दा लगाए पनि प्रहरीले अपहरण नै भएको स्वीकारेका छैनन् । ‘घटना प्रकृति हेर्दा अपहरण नै भएको भन्न सकिँदैन,’ बाराका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले भने, ‘ससुराली घरमा विक्रमसितको विवाद अर्कै रहेछ । पीडितले अपहरणको उजुरी लिएर आएपछि त्यहीअनुसार दर्ता गरी अनुसन्धान गर्दै छौं ।’ जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरेन्द्र यादवले लेनदेनको विवादले पारिवारिक झगडाले घटना भएको देखिएको बताए । ‘अनुसन्धान गर्दै छौं,’ उनले भने ।

प्रकाशित : मंसिर १३, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?