२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कवि शिरोमणिको मधेस घर

काठमाडौंबाट कवि र उनको परिवारका सदस्य कात्तिक लागेपछि मधेस झर्थे, थारु गाउँमा बस्थे, होली सकिएपछि हुन्थ्यो फिर्ती
शंकर आचार्य

पर्सा — पुरानो भएकाले हेर्दा जर्जर देखिन्छ । तर दुईतले काठको घर भव्य छ । फराकिलो आँगन भएको घरको एकातिर ठूलो धनसार र भण्डारण । अर्कोतिर भत्किएको गोठ र भान्साघर । पर्साको जिराभवानी गाउँपालिका–२ काठमाडौं टोलमा रैथाने थारू बस्तीबीच ठडिएको यो घर–आँगनले पुरानो दरबार परिसरकै झल्को दिन्छ । इतिहासको साक्षी यो घर–आँगन कवि शिरोमणि लेखनाथ पौड्यालको हो ।

कवि शिरोमणिको मधेस घर

कविले जीवनका कुनै कालखण्ड यही घरमा बिताएका थिए । काठमाडौंबाट उनी बर्सेनि जाडो छल्न सपरिवार यहाँ आउथे । प्रायः कात्तिकमा मधेस झरेपछि उनी यहाँ लाग्ने प्रसिद्ध जिराभवानी मेला भरेर होली पर्व सकिएपछि मात्रै काठमाडौं फर्किन्थे । यो उनको र परिवारका सदस्यको वार्षिक तालिका जस्तै थियो ।

स्थानीय ८० वर्षीय लक्ष्मण खाँ थारूका अनुसार कवि शिरोमणिले यो घर २०१२ सालतिर बनाएका थिए । त्यतिबेला राजपरिवारबाट पौड्यालले करिब १ सय ५० बिघा जग्गा बक्सिस पाएका थिए । जग्गा रेखदेख गर्न मधेसमै घर बनाएर कवि र उनको परिवारका सदस्यमध्ये कोही न कोही नियमितझैं बस्ने गरेको पनि थारू सम्झन्छन् । ‘उहाँ हिउँदमा यहाँ आएर सपरिवार ३/४ महिना बस्नुहुन्थ्यो । उहाँको अवसानपछि छोरा अनन्तनाथ, छोरी–ज्वाइँ पुण्यप्रभा र बुद्धिनाथ, कुन्ती र विश्वनाथ पनि आउनुहुन्थ्यो,’ उनले भने, ‘माओवादी द्वन्द्वकाल अघिसम्म बर्सेनि उहाँहरू बाली उठाउन काठमाडौंबाट आएर यहाँ लामो समय बस्ने, अनि जाडो घटेपछि फर्कने क्रम चलिरहेको रहेको थियो ।’

सशस्त्र द्वन्द्व सुरु भएपछि पौड्याल परिवारका सदस्य यहाँ आउन छाडेको अर्का स्थानीय तथा छिमेकी नथुनी मृगदाहा थारू बताउँछन् । ‘सम्भवतः बढी खेतीपाती र ठूलो घर भएकाले माओवादीले क्षति गर्लान् भनेर उहाँहरू यहाँ आउन डराउन थाल्नुभयो,’ थारूले भने, ‘एक जना विश्वास पात्रको जिम्मा लगाइएको घर जीर्ण हुँदै गयो । खेतीपाती पनि बिस्तारै बिक्री भयो, अन्त्यमा यही घर पनि उहाँहरूले करिब १५ वर्षअघि बेच्नुभयो ।’ कविको मधेसको खेतबारीमा २२ वर्ष ट्र्याक्टर चलाएका स्थानीय ७६ वर्षीय कमल साहको मुहार अहिले पनि संस्मरणले उज्यालिन्छ । ‘कविजी जाडो छल्न ४/५ महिना यहाँ ढुक्कले बस्न आउनुहुन्थ्यो । त्यतिबेला उहाँहरूको यहाँ प्रशस्त जग्गा–जमिन भएकाले त्यसको रेखदेखका लागि भए पनि आइराख्नुहुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला म भर्खर युवा थिएँ । उहाँको व्यक्तित्व अनौठो लाग्थ्यो, जाजल्यमान अनुहार, सेतो कुर्ता पाइजाम लगाउने र कहिल्यै दारीकपाल नकाट्ने कविजी अत्यन्त गम्भीर पनि हुनुहुथ्यो । उतिबेला व्यक्तित्वबारे धेरै भेउ पाइन, उहाँ बितेपछि पो देशकै ठूलो कवि रहेछन् भन्ने थाहा पाएँ ।’ अझै पनि पुस्तक, पत्रपत्रिका वा टेलिभिजनमा कवि शिरोमणिको तस्बिर देख्दा वा चर्चा सुन्दासमेत पुराना दिनहरू सम्झना आउने उनले बताए । कविको परिवार यहाँ आएर घर बनाएर बस्न थालेपछि गाउँकै नाम काठमाडौं टोल रहन गएको साह बताउँछन् ।

पौड्याल परिवारकै प्रयासमा पर्साको ग्रामीण भेगमध्ये पोखरियापछि यहाँ बिजुली पुगेको थियो । ‘कविजीको परिवार यहाँ बस्न थालेपछि स्थानीयले पनि पढाइप्रति रुचि देखाएर आफ्ना सन्तानलाई पढन पठाउन थालेका थिए,’ उनले भने ।

कविको परिवारबाट स्थानीय भगतजीले खरिद गरेको घरजग्गा अहिले जानकी टोलाका समसुल मियाँले किनिसकेको साह बताउँछन् । मियाँले पनि बेच्न खोजेका छन् । स्थानीय प्रकाश थारू मूर्धन्य साहित्यकारको घरजग्गालाई जोगाएर राख्नुपर्नेमा कसैले वास्ता नगर्नु विडम्बना रहेको बताउँछन् ।

‘यो घर–जग्गा खरिद–बिक्री हुँदा त्यतिबेला स्थानीयमा चेतना भएन र घर जीर्ण भएर अहिले बेहाल हुन पुग्यो,’ उनले भने, ‘जनप्रतिनिधिले कविको चिनोलाई जोगाउन सोचिदिए हुन्थ्यो ।’ चिनो जोगाए साहित्यमा रुचि भएकाहरूका लागि महत्त्वको हुने थारूको भनाइ छ । ‘यसलाई संग्रहालय वा पर्यटकीय स्थलकै रूपमा पनि विकास गर्ने सम्भावना अझै पनि छ,’ उनी थप्छन्, ‘अझै पनि यो घरलाई स्थानीय तहले किनेर संरक्षण गरे हुन्छ ।’

६ दशकअघि बनेको घरमा शयन कक्ष, पुस्तकालय, बैठकलगायत छन् । त्यसबाहेक आँगनमा धनसार, भण्डार, गोठ, भान्सा, शौचालय छन् ।

जिराभवानी गाउँपालिका अध्यक्ष रामप्रित महतोले आफ्नो गाउँपालिकामा कवि शिरोमणिको घर रहेको कुरो हालसम्म जानकारी नरहेको बताए । ‘यो कुरो अहिलेसम्म मलाई थाहा थिएन, तपाईंले भनेपछि मात्र थाहा पाएँ,’ उनले भने ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?