कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो

ओमप्रकाश ठाकुर

सर्लाही — नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत सर्लाहीको बलरामा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । 

कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए । दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले बताए । ‘अचलगढमा विवाद भएपछि मन्त्रीको अंगरक्षकले गोली चलाएका छन् भनेर मलाई जानकारी आएको छ, उनलाई चोट पनि लागेको छ भन्ने बुझेको छु,’ राउतले भने, ‘विवादपछि बलराको दुई वडाको मतदान अधिकृतलाई सुरक्षा निकायले सुरक्षित तरिकाले सदरमुकाम मलंगवा ल्याउनु भएको छ ।’ ११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिनै रहेको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ ।

यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।

प्रकाशित : मंसिर १२, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?