१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालयमा विद्यार्थी न शिक्षक

३८९ जना विद्यार्थीमध्ये दैनिक उपस्थिति ५० जना मात्रै, शिक्षक अभावमा ३ वटा कक्षाका विद्यार्थीको पढाइ एउटै कोठामा
अवधेशकुमार झा

राजविराज — एउटा यस्तो विद्यालय, जहाँ कक्षा कोठा छ । बिदाबाहेक सधैं विद्यालय लाग्छ । तर, विद्यार्थी भने न्यून मात्र आउँछन् । शिक्षक पनि आउँदैनन् । सप्तरीको तिरहुत गाउँपालिका–३ स्थित भवानीराधा आधारभूत विद्यालय गोइठीको अवस्था हो, यो ।

विद्यालयमा विद्यार्थी न शिक्षक

कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा ३ सय ८९ जना विद्यार्थीको नाम रजिस्टरमा उल्लेख छ । तर, दैनिक ५० देखि ६० को हाराहारीमा मात्र विद्यालय आउँछन् । विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवका अनुसार कक्षा १ मा १ सय ९ जना विद्यार्थीले नाम लेखाएका छन् । तर, सरदर उक्त कक्षामा ५ जना विद्यार्थी मात्र पढ्न आउँछन् । कक्षा २ मा ६१ मध्ये ७ जना, कक्षा ३ मा ४७ विद्यार्थी रहेकोमा ८ जना, कक्षा ४ मा २८ मध्ये ८ जना मात्र उपस्थित हुने गरेको हाजिरी रजिस्टरमा देखिन्छ ।

यस्तै, कक्षा ५ मा २६ मध्ये ५ जना, कक्षा ६ मा २९ जना विद्यार्थी रहेकोमा ६ जना, कक्षा ७ मा १८ मध्ये ३ जना र कक्षा ८ मा २५ विद्यार्थीमा १० देखि १२ जनासम्म उपस्थित हुन्छन् । यस्तै, बालविकासतर्फ ४६ जना विद्यार्थी रहेकोमा बढीमा ७ जना मात्र उपस्थित हुने गरेका छन् । जाडो बढेको र अभिभावकले धान भित्र्याउन थालेपछि पछिल्ला केही दिनयता विद्यालय आउने विद्यार्थीको संख्या कम भएको प्रधानाध्यापक यादवले बताए । ‘पहिला केही बढी आउथे । तर पूर्ण उपस्थिति कहिल्यै भएन,’ यादवले भने, ‘अहिले धान भित्र्याउने क्रम सुरु भएपछि विद्यार्थीको संख्या न्यून भएको छ ।’ रजिस्टरमा उल्लेख भएका सबै विद्यार्थी विद्यालयमा अध्ययनरत छैनन् । केही जिल्लाबाहिर त केही स्थानीय निजी स्कुलमा पढ्छन । सरकारी सुविधा लिन मात्र केही अभिभावकले बालबालिकालाई भर्ना गराएका छन् भने केहीले विद्यालय व्यवस्थापन समितिमा राजनीति गर्न भर्ना गरेको स्थानीयको भनाइ छ ।

विद्यार्थी मात्र होइन, शिक्षक पनि कम छन् । बालविकासदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा बालविकासमा दुई जना शिक्षिका छन् भने ३ जना मात्र स्थायी शिक्षक छन् । कक्षा १ देखि ८ सम्म अध्यापन गराउन प्रधानाध्यापक चन्देश्वर यादव र शिक्षकद्वय सत्यनारायण यादव तथा पंकजकुमार रजक मात्र छन् । निजी स्रोतबाट एक जना विकासकुमार यादवलाई राखिएको छ । बालविकासमा लक्ष्मीकुमारी यादव र शिशन्तीकुमारी सरदार कार्यरत छन् । रामदत्त महात्मान एक जना कार्यालय सहयोगी छन् । भएका शिक्षक पनि कक्षाअनुसार पर्याप्त नभएको उक्त विद्यालयमा एक जना पनि बिदामा बस्दा अप्ठ्यारो हुने गरेको प्रधानाध्यापक यादवले सुनाए ।

कक्षाको अनुपातमा शिक्षक नभएपछि कहिले २ वटा कक्षा त कहिले ३ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरेको प्रधानाध्यापक यादबले बताए । शिक्षकका लागि पालिकामा पटकपटक आग्रह गरिएपनि कुनै सुनुवाई नभएको उनको भनाइ छ । विद्यार्थीको उपस्थिती न्युन र शिक्षक पनि कक्षाअनुसार नभएपनि पाठयपुस्तक, छात्रबृतीलगायतका सुबिधा भने भर्ना रहेका विद्यार्थीकै अनुपातमा गएको शिक्षा समितिले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?