१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्लाहीको कांग्रेस वडा अधिवेशनमा सहमति

काठमाडौँसर्लाही — संस्थापन र इतर पक्षबीचको विवादका कारण सर्दै आएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आइतबार तोकिएको छ । शुक्रबार राति दुवै पक्षबीच सहमति भएसँगै अधिवेशनको तयारी थालिएको हो । जिल्लामा वडा अधिवेशनको मिति भने चौथो पटक तोकिएको हो ।

सर्लाहीको कांग्रेस वडा अधिवेशनमा सहमति

दुई पक्षबीच विवाद समाधान भएपछि वडा तहको निर्वाचनको तयारी थालिएको निर्वाचन अधिकृत भरत राउतले बताए । उनले शनिबार मतदान अधिकृतलाई तालिम दिइसकेको जानकारी दिए । यसअघि शुक्रबार तेस्रो पटकका लागि चुनाव तोकिएको थियो । तर, दुई पक्षबीच क्रियाशील सदस्यताको विवाद भएपछि अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । सदस्यता नम्बरबिनै मतदाता नामवलीमा सदस्यको नयाँ नाम थपिएको र केन्द्रमा भएको सहमतिविपरीत मतदान अधिकृत खटाइएको भन्दै इतर पक्षका नेता तथा पूर्वजिल्ला सभापति लक्ष्मण रायले असन्तुष्टि जनाएपछि विवाद भएको थियो । निर्वाचन अधिकृत राउतले थपिएका नयाँ सदस्यलाई निर्वाचनमा सहभागी नगराउने र मतदान अधिकृत गोलाप्रथाबाट तोक्ने सहमति भएको बताए ।

उनका अनुसार मंसिर १२ मा वडा अधिवेशन गर्ने, प्रदेश नम्बर २ मा प्रदेश स्तरीय अधिवेशन सरेमा १४ गते पालिकास्तरीय अधिवेशन गर्ने र सो अधिवेशन नसरेमा प्रदेश स्तरीय अधिवेशन गर्ने, १५ गते क्षेत्रीय अधिवेशन गर्ने र १७ गते जिल्ला अधिवेशन गर्ने सहमति पनि भएको छ । ‘दुई पक्षबीच विमतिहरू टुंगिएको छ, त्यसअनुरुप वडादेखि जिल्ला अधिवेशनको पनि मिति टुंग्याइएको छ,’ उनले भने, ‘अब फास्ट ट्रयाकमा निर्वाचन अघि बढ्नेछ ।’

कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय देउवा समूह र पूर्व जिल्ला सभापति राय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । जिल्ला सभापतिका दाबेदार रहेका रायद्वयकै कारण सर्लाहीमा पटक–पटक विवाद, निर्वाचन अधिकृतद्वारा राजीनामा र अधिवेशन सर्दै आएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?