१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्मचारी अभाव झेल्दै रौतहट

जिल्लाभरका सरकारी कार्यालयमा ३० प्रतिशत दरबन्दी खाली
गौर अस्पताल ३ वर्षदेखि चिकित्सकविहीन
शिव पुरी

रौतहट — जिल्लाका अधिकांश सरकारी कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा कामकाज प्रभावित बनेको छ । सबै कार्यालयमा गरी हाल झन्डै ३० प्रतिशत दरबन्दी खाली रहेको प्रशासन कार्यालयले जनाएको छ ।

कर्मचारी अभाव झेल्दै रौतहट

कर्मचारी अभावले गौर अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन । ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक जना पनि नभएपछि एक वर्षदेखि भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेको हो ।

अस्पतालको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । ‘दरबन्दीअनुसार चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा स्वास्थ्य मन्त्रालयबाट कुनै सुनवाइ भएन,’ अस्पताल प्रमुख डा. कृष्ण साहले भने, ‘कोरोना महामारीका बेला पनि चिकित्सककै अभावमा गम्भीर बिरामीलाई धमाधम बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो ।’ उनका अनुसार अस्पताल चिकित्सकविहीन भएको ३ वर्ष भइसकेको छ । अस्पतालको पीसीआर प्रयोगशालामा १४ जना कर्मचारी हुनुपर्नेमा हाल ५ जनाले सेवा दिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय गौरमा पनि कर्मचारी अपुग छ । प्रशासनमा लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत तथा ४ जना नायब सुब्बा र २ जना खरिदारको दरबन्दी खाली रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

‘जिल्लाभर कुनै पनि सरकारी कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी छैनन् । सरुवा भएकाहरू पनि रौतहट आउन मान्दैनन्,’ उनले भने, ‘मेरै आफ्नै कार्यालयमा कर्मचारी छैनन् । अरूको के कुरा गर्नु ? कार्यालयको बैठकमा दरबन्दीअनुसार कर्मचारी नभएर समस्या परेको गुनासो मात्रै सुन्छु ।’

उनका अनुसार जिल्लाका १८ वटा स्थानीय तहमध्ये १५ वटामा उपसचिव छैनन् । खानेपानी, सिँचाइ, सडक, कारागार, इलाका प्रशासनलगायतका कार्यालयमा एक वर्षभन्दा बढी समयदेखि दरबन्दीअनुसारका कर्मचारी छैनन् । दैनिक सेवाग्राहीको भीड लाग्ने मालपोत कार्यालयमा अधिकृत ३ र नायब सुब्बा ५ जना छैनन् । कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको कार्यालय प्रमुख रामकृण उप्रेतीले सुनाए । डिभिजन वन कार्यालयको समस्या पनि उस्तै छ । १ सय १० कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ९० जना मात्र छन् ।

वनरक्षक र सशस्त्र वन रक्षक नभएकाले समस्या भएको सहायक वन अधिकृत रामप्रसाद साहले गुनासो गरे ।

दरबन्दीअनुसार कर्मचारी माग गर्दा मन्त्रालय र विभागबाट कुनै सुनवाइ नभएको कार्यालय प्रमुखहरूको गुनासो छ । दरबन्दीमा कर्मचारी नपठाएपछि केहीले करारमा राखेर काम चलाउँदै आएका छन् । गौर अस्पतालले केही स्टाफ नर्स करारमा राखेको जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?