गच्छदारको क्षेत्रमा कांग्रेस निर्वाचन स्थगित

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम विवादित बनेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । उपसभापति विजयकुमार गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यतालिका नै प्रभावित भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान ९ बजेदेखि सुरु हुनुपर्ने मतदान विवादको कारण समयमै हुन सकेको थिएन । निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार मतदान सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरु कोही पनि उपस्थित नभएकोले मतदान हुन नसकेको हो ।

कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले मतदान सुरु गर्न माग गर्दै निर्वाचन अधिकृत यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरुले यादव निर्वाचन गराउन असक्षम भएको आरोप लगाएका थिए ।

मतदान अधिकृत यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदानलगायत अन्य निर्वाचन कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिएरका थिए । मतदान स्थगित भए पनि क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेकाले नेताहरु विवाद मिलाउन छलफलमा रहेको बताए ।

सहमतिका लागि भन्दै मंसिर ६ गते हुनुपर्ने उम्मेदवारी मनोनयन रोकिएको थियो । ७ गते हुनुपर्ने मतदान कार्यक्रम पनि विवादले रोकिएको थियो । ८ गते मतदान हुनुपर्ने भए पनि रोकिएको थियो । क्षेत्र नं ३ को सभापतिमा संस्थापन गच्छदार समूहबाट प्रदीप चौधरी र पौडेल–कोइराला समूहबाट मेहेदी हुसेनले उम्मेदवारी दिएका छन् भने गच्छदार निकट सत्यनारायण मण्डलको पनि उम्मेदवारी परेको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?