कुपोषणको सिकार बन्दै बालबालिका

‘अभिभावकमा चेतनाको कमी र लापरबाहीले सन्तान कुपोषित बन्दै’
कुपोषित बालबालिकामा सबैभन्दा बढी क्षयरोगको समस्या देखिएको विज्ञहरुको भनाइ
शंकर आचार्य

पर्सा — वीरगन्ज–१७ अलौंका रामबाबु पटेल र शोभादेवीका ८ वर्षीय छोरा सचिनलाई कुपोषणसँगै क्षयरोगको समस्या छ । नारायणी अस्पतालको पेड्रियाट्रिक वार्डमा उपचाररत सचिनमा क्षयरोगसमेत देखिएपछि अस्पतालकै पोषण पुनःस्थापना गृहमा कात्तिक २१ मा भर्ना गरिएको छ ।

कुपोषणको सिकार बन्दै बालबालिका
  • हरिहरपुरका गणपति साह र हिरामती देवीका १८ महिनाका छोरा राकेश पनि कुपोषणबाट ग्रसित छन् । डाउन सिन्ड्रोमसमेत झेलिरहेका राकेश बुधबारदेखि आमा हिरामतीसँगै गृहमा आश्रित छन् ।
  • वीरगन्ज भगवती टोलका गोपाल बनर्जी र राधिका बनर्जीका ४ सन्तानमध्ये ३ जना कुपोषित छन् । तीमध्ये ७२ महिनाका छोरा र १२ महिनाकी कुपोषित छोरीलाई बुधबारदेखि गृहमा भर्ना गरी आमा राधिका उनीहरूको स्याहारमा जुटिरहेकी छन् । ५० महिनाका अर्का कुपोषित छोरालाई बुबा गोपालले घरमै स्याहार्दै छन् । बनर्जी दम्पतीका अर्का छोराको अवस्था पनि कुपोषितजस्तै देखिन्छ तर उनको स्वास्थ्य जाँच गरिएको छैन । गोपाल पेसाले भान्से हुन् ।
  • बारा, इटियाहीका राजकुमार राम र पुनम देवीकी जेठी छोरी मन्सा कुपोषित भएर ६ वर्षअघि गृहमा भर्ना भएकी थिइन् । त्यतिबेला गृहबाट पोषित बनाई उनलाई घर पठाइएको थियो । अहिले राम दम्पतीकी कान्छी छोरी १६ महिनाकी ममतामा पनि कुपोषणकै समस्या देखिएको छ । गत असोज १९ मा गृहमा भर्ना हुँदा ममताको तौल ४ किलो मात्रै थियो । २७ दिनपछि उनको तौल ६ किलो ५ सय ग्राम पुगेपछि उनलाई घर पठाइएको छ ।

पर्सा र बारामा कुपोषणको डरलाग्दो अवस्था झल्किने यी केही उदाहरण हुन् । आर्थिक रूपले सम्पन्न र परिवारका सदस्यलाई २ छाक खाना खुवाउन समस्या नहुने परिवारका बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । केही समयको अन्तरालमा केही परिवारको अर्को सदस्यमा समेत यस्तो समस्या दोहोरिएको छ । गृहकी कार्यक्रम संयोजक सरिता यादवले बालबालिकामा कुपोषणको समस्या देखिनुको मुख्य जिम्मेवार तिनका अभिभावक हुने गरेको बताइन् ।

‘आफ्ना सन्तानलाई घरमा पाक्ने सामान्य २ छाक खाना खुवाउन सक्ने हैसियत भएका वा त्योभन्दा माथिको हैसियत भएकाहरूको परिवारका बालबालिका कुपोषित हुनु भनेको अभिभावकको चरम लापरबाही र चेतनाको कमी हो,’ उनले भनिन्, ‘यस भेगका अभिभावकहरू आफ्ना सन्तानलाई दाल, भात त खुवाउँछन् । तर हरियो तरकारी र गेडागुडी खुवाउँदैनन् । घरमा प्रायः तरकारीको रूपमा आलुको प्रयोग बढी गर्छन् । थोरै खर्चमै खुवाउन सकिने दूध, दही र माछामासुसमेत खुवाउन अल्छी मान्छन्, यसरी पोषिलो र शरीरलाई आवश्यक खानाको अभावमा बालबालिकाहरूमा कुपोषणको समस्या देखिएको हो ।’ तराई–मधेसमा आफ्नो घरमा पकाएको स्वस्थ खाजाभन्दा घरबाहिर पकाइने पकौडा, बिस्कुट, चाउचाउ छोराछोरीलाई खाजाको रूपमा दिने प्रवृत्तिले पनि बालबालिकामा कुपोषणको समस्या बढी देखिएको उनको भनाइ छ ।

सन् २००६ मे १४ बाट सञ्चालनमा आएको गृहमा हालसम्म १४ वर्षमुनिका २ हजार ६ सय ८० कुपोषित बालबालिका भर्ना भइसकेका छन् । तीमध्ये सबैभन्दा बढी १ हजार ४ सय ७३ जना पर्साका छन् । यसपछि ८ सय २० जना बाराका, १ सय ५६ जना रौतहटका, ४४ जना सर्लाहीका, ११ जना महोत्तरीका, ७ जना मकवानपुरका र २/२ जना चितवन, धनुषा र मोरङका छन् । यसबाहेक १ सय ६० भारतीय बालबालिका पनि गृहमा उपचारार्थ भर्ना भएका थिए ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्डअनुसार उचाइअनुसारको तौल नभएका बालबालिकामा कुपोषणको समस्या रहेको यकिन गर्ने गरिएको यादव बताउँछिन् । ‘सामान्यतः नवजात शिशुको उचाइ कम्तीमा ५० सेन्टिमिटर हुनुपर्छ,’ उनले भनिन्, ‘अर्को वर्ष उक्त शिशुको उचाइ २५ सेन्टिमिटर, त्यसपछिका वर्षहरूमा क्रमशः १२.५/१२.५ सेमीका दरले उचाइ बढ्नुपर्छ ।’ बालबालिकामा सामान्यतः पुड्कोपना र ख्याउटेपना उमेरअनुसार कम तौल र सूक्ष्म तत्त्वको कमीले हुने गर्छ । यसअनुसार ३ खालका कुपोषण देखिने गरेको उनको भनाइ छ ।

कुपोषित बालबालिकामा सबैभन्दा बढी क्षयरोग भएको पाइएको उनले सुनाइन् । गृहमा हालसम्म भर्ना भएकामध्ये १ सय १४ बालबालिकामा क्षयरोगको समस्या देखिएको छ । यसबाहेक २२ जनामा एचआईभी एड्स, ६ जनामा हड्डी खिइने रोग, ३ जनामा मुटुरोग, २ जनामा सेफ्टी सेनिया, १ जनामा थाइरोइड, ७ जनामा डाउन सिन्ड्रोम, ३ जनामा थाल्सेमिया, १ जनामा जन्डिस, २ जनामा मेनेनजाइटिस, १ जनामा जेनाइटर हर्निया, १ जनामा प्यारालाइसिसको समस्या देखिएको छ ।

बालबालिकामा कुपोषण समस्या हुन नदिन गर्भावस्थामा आमालाई पोषिलो खाने कुरा खुवाउनुका साथै शिशु जन्मेपछि पनि सन्तुलित भोजन र नियमित खोप लगाउनुपर्ने यादव बताउँछिन् । बाराको राम परिवारमा ६ वर्षपछि फेरि अर्की छोरीमा पनि कुपोषणको समस्या देखिनुमा अभिभावकको लापरबाही नै प्रमुख कारण रहेको उनले बताइन् । ‘राम दम्पतीलाई पोषिलो खानेकुरा र तिनको अभावमा बालबालिकामा हुने कुपोषणको समस्याबारे यसअघि नै राम्रो जानकारी थियो तर उहाँहरूले फेरि पनि लापरबाही गर्नु भएको पाइयो ।

आफ्ना सन्तानको स्वास्थ्यको ख्याल अभिभावकले नै गर्ने हो,’ उनले भनिन्, ‘अभिभावक सचेत भई आफ्ना सन्तानलाई नियमित पोषिलो खानेकुरा खुवाउने हो भने बालबालिकामा कुपोषणको समस्या न्यून भएर जान्छ । हामीले पनि गृहमा दाल, भात, तरकारी, अचार र त्यसबाहेक गेडागुडी, माछा–मासुनै खुवाउने हो । यी खानेकुरा नियमित र मात्रा मिलाएर खुवाउँदा पुग्छ ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?