२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जहाँ बिग्रियो, त्यहीँ गाडी छाड्दा दुर्घटना

दसैं अवधिभर प्रदेश २ मा २५८ सवारी दुर्घटना हुँदा ४० जनाको मृत्यु
शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गमा सवारीसाधन बिग्रिएपछि अलपत्र छाड्दा दुर्घटनाको जोखिम बढेको छ । ट्र्याक्टर, जिप र मालबाहक ट्रक बिग्रिएपछि सडकमै छाड्ने गर्दा अन्य सवारीले ठक्कर दिई दुर्घटना हुने गरेको हो ।

जहाँ बिग्रियो, त्यहीँ गाडी छाड्दा दुर्घटना

एक महिनाअघि चन्द्रपुर–४ पचिम लच्कास्थित पूर्वपचिम राजमार्गमा पूर्व जाँदै गरेको ना४ख ८३२९ नम्बरको मालबाहक ट्रक बिग्रियो । सडकमा त्यतिकै छाडिएको ट्रकमा चन्द्रनिगाहपुर आउँदै गरेको बा२१च ८६१६ नम्बरको कार ठोक्कियो । कार चालक असिम कुशवाह, त्यसमा सवार ध्रुव कोइराला र दीपक पौडेल घाइते भए ।

राति विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीले रोकिराखेको ट्रक नदेखिएपछि ठोक्किन पुगेको कुशवाहको भनाइ थियो । केही दिनअघि लमाह–धन्सार खण्डमा टायर पन्चर भई रोकिराखेको ना२ख ५००८ नम्बरको ट्रकमा बिरामी लिएर चितवन जाँदै गरेको ना४च ८३३ नम्बरको एम्बुलेन्स ठोक्कियो । एम्बुलेन्स चालक नरबहादुर भोलन घाइते भए ।

दुई वर्षअघि पथलैया–निजगढ खण्डको पसाहानजिक राजमार्गमा बिग्रिएर अलपत्र छाडिएको ट्र्याक्टरको टेलरमा ठोकिएर बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरीका एसपी बलराम लामिछानेको मृत्यु भएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले देशभरका मातहतका प्रहरी कार्यालयलाई राजमार्गमा जथाभावी सवारीसाधन रोकेर राख्न नदिन निर्देशन दियो । केही समयसम्म यो निर्देशन कार्यान्वयन भएको देखिन्थ्यो । अहिले प्रहरीले खासै चासो नदिने गरेको चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष सञ्जय काफ्ले बताउँछन् ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका डीएसपी सन्तु जैसवाल राजमार्गमा बिग्रिएर अलपत्र छाडिने सवारीसाधनलाई तत्कालै तानेर वा कुनै माध्यमबाट हटाइने गरेको दाबी गर्छन् । ‘दिउँसो भन्दा राति रोकिराखेको ट्रक, ट्र्याक्टरको टेलरमा अरु गाडी ठोकिन्छन्,’ उनले भने, ‘मुख्य सडकमा सवारीसाधन बिग्रियो भनेर जथाभावी छाड्न दिँदैनौं । तत्कालै हटाउन लगाउँछौं ।’ कार्यालयका अनुसार गत दसैंअवधिभर प्रदेशका ८ वटै जिल्लामा २ सय ५८ सवारी दुर्घटना हुँदा ४० जनाको ज्यान गएको थियो । १ सय ६ जना गम्भीर र ३ सय २ जना सामान्य घाइते भएका थिए । ३ सय ८५ वटा सवारी दुर्घटनामा परेका थिए ।

प्रदेश २ मा गएको साउनयता १ हजार ६ सय ८५ सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जसमा १ सय ८७ जनाको ज्यान गएको र ७ सय ६० घाइते भए । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको डीएसपी जैसवाल बताउँछन् ।

प्रकाशित : मंसिर ७, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?