१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गुट विवादले रोकियो अधिवेशन

कांग्रेसका दुई पक्षको दबाबपछि निर्वाचन अधिकृतले राजीनामा दिँदा वडा निर्वाचन स्थगित
ओमप्रकाश ठाकुर

सर्लाही — गुटगत राजनीतिले सर्लाहीमा कांग्रेसको वडा अधिवेशन नै प्रभावित भएको छ । वडा निर्वाचनका लागि दुई पटक समय तोकिए पनि हुन सकेको छैन । कांग्रेस केन्द्रीय कार्यालयले अघिल्लो शनिबारका लागि सर्लाहीसहित १२ जिल्लामा वडा अधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो ।

गुट विवादले रोकियो अधिवेशन

तालिकाअनुसार सर्लाहीको निर्वाचन गराउन विनोद कार्कीलाई जिम्मेवारी दिइयो । तर संस्थापन र इतरपक्षको विवादले निर्वाचन हुन सकेन । निर्वाचनको अघिल्लो दिन नै कार्कीले राजीनामा बुझाए । उनले दुई पक्षको दबाब थेग्न नसकेका कारण आफूले राजीनामा दिएको जनाएका थिए । ‘दुवै पक्षको दबाबका कारण निर्वाचन गराउन सम्भव नदेखेपछि राजीनामा दिएको हुँ,’ कार्कीले भने, ‘दुवै पक्ष गुटभन्दा माथि उठ्नै सकेका छैनन्, यस्तो अवस्थामा निर्वाचन गराउन कठिन छ ।’

कार्कीको राजीनामापछि सभापतिका प्रत्याशी वर्तमान सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण रायबीच तिक्तता बढ्यो । दुवैले एकअर्कालाई निर्वाचन अधिकृतलाई स्वतन्त्र रूपले कामै गर्न नदिएको आरोप लगाए । केन्द्रले दोस्रो पटक निर्वाचन गराउने जिम्मा दिवाकर पाण्डेलाई दियो । पाण्डे गत आइतबार जिल्लामा उपस्थित भए । जिल्ला सभापति रायले तोकेको पार्टी प्यालेसमा अधिकृत पाण्डेले बैठक बोलाउँदा अर्को पक्ष उपस्थित भएन । उनीहरूले सभापति निकट होटल रहेको भन्दै त्यसमा निर्वाचन कार्यालय राखे वा अधिकृत बसे निर्वाचन प्रक्रियामै भाग नलिने बताए । यसअघिका निर्वाचन अधिकृतलाई पनि विपक्षीले स्थानबारे विमति जनाएका थिए ।

पार्टी कार्यालयबाट निर्वाचन गर्ने भनेर दुवै पक्षको सहमतिपछि बिहीबार मतदान हुने दिन तोकियो । तर निर्वाचन अधिकृत पाण्डे अघिल्लो रात निर्वाचनको सम्पूर्ण कागजातसहित सभापति निकट होटलमा गएर बसेपछि इतरपक्ष चिढिए । पाण्डेले निर्वाचनको दिन एकपक्षीय रूपमा मतदान अधिकृतको सूची सार्वजनिक गरेपछि विवाद झनै बढ्यो । दुई पक्षबीच झडप पनि भयो ।

विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले कांग्रेसको इतरपक्षका नेताद्वय विनोद खनाल र बलिराम झामाथि अभद्र व्यवहार गरेपछि झडप भएको पूर्वसभापति लक्ष्मण रायले बताए । ‘वर्तमान सभापतिले निर्वाचन चाहेकै छैनन्, सहमति गरेको कुरा पनि लागू गर्न चाहँदैनन्,’ उनले भने, ‘सभापतिकै कारण जिल्लामा वडासहितको निर्वाचन अन्योल बनेको छ ।’

सभापति रायले वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा कुराकानी भइरहेको बेला निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको दाबी गरे । उनले अधिवेशनको जिम्मा आफूलाई भए पनि त्यसको व्यवस्थापनमा विपक्षले अनावश्यक टाउको दुखाउँदा निर्वाचन प्रभावित भइरहेको जानकारी दिए । ‘निर्वाचन गराउने जिम्मा हाम्रो हो, तर वहाँहरूले आफू अनुकूल गर्न खोजिरहनुभएको छ, यसले काम गर्न कठिन भएको छ,’ उनले भने, ‘आफू अनुकूल नहुँदा मतदान अधिकृतमाथि नै हातपात गर्न थालेका छन् ।’ अहिले निर्वाचन अधिकृत पाण्डेले समेत निर्वाचन गराउन नसकिने भन्दै राजीनामा बुझाइसकेका छन् ।

पटक–पटक निर्वाचन स्थगित भएपछि केन्द्रीय कार्यालयले दुई पक्षका नेताहरूलाई काठमाडौं बोलाएको छ । जिल्ला सभापति राय प्रधानमन्त्री शेरबहादुर देउवानिकट र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् । उनीहरूबीचमा क्रियाशील सदस्यतादेखि नै विवाद चल्दै आएको थियो । कांग्रेसका जिल्ला नेतृत्व तहले सामान्य विवाद मिलाउन नसक्दा आमकार्यकर्ता निराश छन् । सर्वसम्मत रूपमा निर्वाचन गराउनुपर्ने बेलामा दुवै पक्ष आनो अडानमा कायम रहँदा कार्यकर्ता निराश बनेको नेता कौशल सिंहले बताए ।

प्रकाशित : मंसिर ६, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?