छठ मनाउने खोला प्रदूषित- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छठ मनाउने खोला प्रदूषित

सिर्सिया खोलामा प्रदूषित पानी फाल्न रोक लगाए पनि उद्योगहरुले टेरेनन्
शंकर आचार्य

पर्सा — छठ पर्व सुरु हुँदा पनि सिर्सिया खोला नसङ्लिँदा स्थानीय आक्रोशित भएका छन् । अघिल्ला वर्षहरूमा छठ सुरु हुनु एक साता अघिदेखि खोलाको पानी सफा हुन्थ्यो । यस वर्ष भने खोला सङ्लिएको छैन ।

सोमबारदेखि यो पर्वको धार्मिक विधि सुरु भइसकेको छ । खोलाको पानी सफा नभएपछि छठ व्रतालु चिन्तित बनेका छन् ।

वीरगन्ज–२३ प्रसौनीवीर्ताका युवा अनिशकान्त कुशवाहाले यस वर्ष छठ सुरु हुँदा पनि सिर्सियाको प्रदूषण नघट्नु चिन्ताको विषय भएको बताए ।

‘व्रतालुहरूले यसै खोलाको पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्छन्,’ उनले भने, ‘खोलाको प्रदूषणको स्तर यस्तै रहे व्रतालुले कसरी छठ पूजा गर्ने ?’ पर्सा बारा औद्योगिक करिडोरका उद्योगले यस खोलामा आफ्ना उद्योगबाट निस्कने प्रदूषित अवशेष फाल्न बन्द नगरेकाले यो समस्या भएको उनले बताए ।

सिर्सिया नदी एवं वीरगन्ज प्रदूषण मुक्त अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले सिर्सिया खोलाको प्रदूषण हाल २५ देखि ३० प्रतिशतसम्म मात्र घटेकाले खोलाको पानी कालै देखिएको बताए । ‘खोलाको पानी सफा देखिन करिडोरका उद्योगले एक साथ खोलामा अवशेष फाल्न बन्द गर्नुपर्छ,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा एक साताअघि नै खोलाको पानी क्रमशः सफा हुँदै जान्थ्यो, यस वर्ष त्यस्तो देखिएन ।’

बारादेखि पर्सासम्म यो खोलामा २ दर्जनभन्दा बढी स्थानमा छठको घाट निर्माण गरिन्छ । २ वर्षअघि छठमा सिर्सिया खोला प्रदूषण गरेको भन्दै एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

चार दशकयता अत्यधिक प्रदूषित बनेको सिर्सिया खोलामा अहिले कालो पानी बग्छ । खोलाको पानी मानव तथा चौपायाको उपयोगमा आउने लायक पनि छैन । खोलाको पानीबाट सिँचाइ पनि गर्न सकिँदैन ।

खोलामा धार्मिक परम्पराअनुसार पूजाआजा र दाहसंस्कार गर्न समेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करिब ३ किमी पछि प्रदूषित बन्न थाल्छ । वीरगन्ज पुग्दा खोलाको पानी पूर्ण रुपले कालो बनिसक्छ ।

डेढ दशकअघि सिर्सिया खोलाको प्रदूषणको स्रोत पत्ता लगाउन गठित सिर्सिया नदी अनुगमन समितिले आफ्नो प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाउँदै प्रदूषित बनाउने ४८ स्रोत किटान गरेको थियो ।

ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाले खोलामा फाल्ने गरेको फोहोर र वीरगन्ज नगर क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई किटान गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले यस वर्ष छठ पर्वको समयमा खोलालाई प्रदूषण मुक्त बनाउने सम्बन्धमा एक साताअघि नै बैठक बसी निर्णय भएको बताए ।

‘बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघलाई पनि करिडोरका उद्योगलाई यस अवधिमा खोलामा प्रदूषित पानी फाल्न रोक लगाउन आवश्यक निर्देशन दिन भनिएको थियो,’ उनले भने, ‘डाबर नेपाल लगायतका केही उद्योगले खोलामा प्रदूषित पानी फाल्न पनि बन्द गरेका छन्, आइतबार एक संयुक्त अनुगमन समितिले करिडोरका केही उद्योगको स्थलगत अनुगमन समेत गरेको थियो ।’

केही उद्योगले खोलामा सङ्लो पानी फाल्न थाले पनि बर्ष भरी प्रदुषित खोलाको पानी पूर्ण सफा हुन थप समय लाग्ने उनले बताए ।

कारागारमै मनाइँदै

वीरगन्ज कारागारका दुई दर्जन महिला कैदीबन्दीले यस वर्ष छठ पूजा गर्दै छन् । यसबाहेक झन्डै ५ दर्जन पुरुष कैदीले व्रत लिने र दण्ड नाप्ने विधि गर्दै छन् । व्रतालु महिला कैदीबन्दीले सोमबारबाटै पर्वको विधि थालेका छन् ।

थुप्रै सामाजिक संघसंस्था तथा दाताले उनीहरूलाई छठ पर्वको पूजा सामग्री सहयोगस्वरूप उपलब्ध गराएकाले पर्व मान्न सजिलो भएको छ ।

१० वर्षदेखि निरन्तर कारागारमै छठ पर्व मान्दै आएकी ४० वर्षीया कैदी उषा पाण्डेले आफूहरू कारागारभित्र रहे पनि पर्वको कुनै पनि विधि पूरा गर्न झन्झट नमान्ने गरेको बताउँछिन् । अर्की व्रतालु कैदी ४५ वर्षीया काली साहले आफूले घरमा हुँदा पनि यो व्रत गर्ने गरेकीले कारागारमा आए पनि यसलाई निरन्तरता दिएको बताइन् ।

कारागारमा पुरुष कैदीबन्दी बस्ने ठाउँमा सानो पोखरी छ । बर्सेनि सोही पोखरीमा महिला कैदीबन्दीलाई पूजाअर्चना गर्ने व्यवस्था मिलाइन्छ । उनीहरूलाई यसका लागि १५ मिनेटदेखि आधा घण्टाको समय दिइन्छ । पुरुष कैदीबन्दीहरूले उक्त घाट तथा पूजास्थलको सरसफाइ तथा साजसज्जा गर्छन् ।

कारागारका जेलर कृष्ण गैरेले कैदीबन्दीको धार्मिक आस्था तथा कारागारमा पनि यो पर्व मान्न दिइने परम्पराको अनुसरण गर्दै यस वर्ष पनि छठ पूजा गर्न दिने वातावरण बनाइएको बताए । ‘यो धार्मिक आस्था र परम्पराको कुरा हो, कैदीबन्दीले पनि यो पर्व धार्मिक विधि र निष्ठापूर्वक मान्न पाउनुपर्छ,’ उनले भने, ‘हामीले त्यसैअनुसारको व्यवस्था मिलाएका हौं ।’

छठ पर्वअन्तर्गत बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । सोमबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका व्रतालुले मंगलबार ‘खरना’ विधि सकेका छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खाइन् ।

रस्याउ रोटीलाई प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खुवाइन्छ । व्रतालुहरूले बुधबार निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदो सूर्य र बिहीबार उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र व्रत तोड्छन् ।

प्रकाशित : कार्तिक २४, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

दीपावलीपछि तराई-मधेसमा छठको चटारो

शंकर आचार्य

पर्सा — दीपावली सकिए लगत्तै तराई-मधेसमा छठ पर्वको चटारो सुरु भएको छ । छठ पर्व तराईमा धुमधामका साथ मनाइन्छ । भोजपुरा संस्कृतिको गढ वीरगन्जमा यो पर्वको उत्साह र उमंग झनै बढी हुने गरेको छ । यो पर्वका मूख्य विधिहरू सोमबारबाट सुरु हुँदैछ ।

वीरगन्ज तेजारथ टोलकी छठ व्रतालु मञ्जु देवीका अनुसार सोमबार ब्रतालुहरूले ‘नहा खाय’ विधि गर्नेछन् । यस दिन व्रतालुले स्नान गरी चोखो भई आफैंले बनाएको सात्विक भोजन गर्छन् । व्रतालुले यस दिन विशेष गरी लौकाको तरकारीसँग भात खाने चलन छ ।

मंगलबार व्रतालुहरूले रस्याउ रोटी खाने विधि ‘खरना’ रहेको छ । उनीहरूले साँझ सख्खरमा पकाएको खीर र रोटी खाएर भोलिपल्ट अर्थात् बुधबार दिनभर भोकै बसी साँझ घर नजिकको घाटमा गई पूजाअर्चना गर्नेछन् । जसलाई ‘सँझियाघाट’ भनिन्छ । बिहीबार बिहान पुनः घाटमा पूजाअर्चना गर्नेछन् । जसलाई ‘बिहनियाघाट’ भनिन्छ ।

२ वर्ष कोरोना कहरले यहाँको छठ पर्वको उत्साहमा केही कमी ल्याए पनि यस वर्ष भने त्यस्तो कुनै बाधा अवरोध छैन । बजारमा किनमेल गर्ने व्रतालुको भिडभाड बढेको छ । यहाँका छठ घाटहरू भव्य रुपले सजाइँदै छन् ।

रोजगारी तथा अन्य प्रयोजनले स्वदेश तथा विदेशमा रहेका छठ पर्व मान्नका लागि क्रमशः घर फर्किइरहेका छन् । व्रतालुहरू हाल छठ पूजाको प्रसाद पकाउन प्रयोग गरिने पिठो तयार पार्न गहुँ सुकाउने काममा व्यस्त छन् । प्रसाद पकाइने गहुँलाई पशुपन्क्षी समेतले मुख जुठो हालेर बिटुल्याउनु हुन्न भन्ने विश्वास अनुरुप व्रतालु तथा उनीहरूका परिवारका सदस्य दिनभर घाममा बसेर भए पनि गहुँ सुकाउने गर्छन् ।

यस पर्वमा व्रतालुले खोलानाला तथा जलाशयमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल, गंगाजल आदिको अर्घ दिन्छन् । यो व्रत तथा यसका विधि पूरा गर्न व्रतालुलाई उनीहरूका परिवारका सदस्यले पनि सघाउँछन् । यो पर्वमा व्रतालुले पूजाअर्चना गर्न पुरोहितको मद्दत लिँदैनन् । पूजाको सम्पूर्ण विधि आफैँले पूरा गर्छन् ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रधापूर्वक मनाइने यो सूर्य आराधनाको पर्व हो । यो पर्वलाई सूर्य षष्ठि, स्कन्ध षष्ठि र छठीमइया पूजा पनि भन्छि । छठ पर्वले आफ्ना परिवारजन, साथीभाइ, इष्टमित्र, छरछिमेकी समेतलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँ वस्त्र धारण गर्नुका साथै विवाह गरी गएका चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।

वीरगन्ज र छिमेकी भारतीय सहर रक्सौलमा पर्वको किनमेल गर्नेहरूको भिडभाड बढेको छ । छठ पर्वका लागि वीरगञ्जको सबैभन्दा ठूलो तथा प्रसिद्ध घाट घडिअर्वा पोखरी परिसरलाई पनि सजाउने काम अन्तिम चरणमा पुगेको छ । रानीघाट, मुर्ली, नगवा आदि घाट पनि बेहुली झैं सिंगारिँदैछन् । घाटको व्यवस्थापन र सजावटमा स्थानीय बासिन्दा स्वतस्फूर्त रुपमा सहभागी हुने गरेका छन् ।

वीरगन्जका सामाजिक अगुवा मनोज उपाध्याय तराई मधेशमा दिपावली, छठ र होली पर्वलाई विशेष रुपमा मान्ने चलन रहे पनि छठ पर्व अत्यन्त श्रद्धापूर्वक तथा व्यापक रुपमा मनाइने भएकाले यो तराई महान पर्व बन्न पुगेको बताउँछन् । ‘तराईमा पनि वीरगन्जमा यो पर्व अत्यन्त भव्य रुपमा मान्ने चलन छ,’ उनले भने, ‘वीरगन्ज भोजपुरीको गढ पनि भएकाले यहाको छठ पर्वले भोजपुरा संस्कृति, रीतिथिति र धार्मिक परम्पराको पनि प्रतिनिधित्व गर्छ ।’

प्रकाशित : कार्तिक २१, २०७८ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×