२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

प्रदेश २ मा वर्षाको असर : ११ प्रतिशत धानबाली नष्ट

सर्लाहीमा मात्रै २५ प्रतिशत धानबालीमा क्षति
श्यामसुन्दर शशि

जनकपुर — कात्तिकको पहिलो साता आएको वर्षा र बाढीका कारण प्रदेश २ मा ११ प्रतिशत धानबाली नष्ट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शाखाले जनाएको छ । बेमौसमको वर्षाका कारण वार्षिक बाली चक्र प्रभावित हुने तथा धानसँगै राहर, आलु, गहुँ लगायत बालीको उत्पादनमासमेत ह्रास आउने बालीविद्हरु बताउँछन् ।

प्रदेश २ मा वर्षाको असर : ११ प्रतिशत धानबाली नष्ट


मन्त्रालयको कृषि शाखाबाट प्राप्त तथ्यांक अनुसार प्रदेशका आठ जिल्लामध्ये सप्तरीमा सर्वाधीक २५ प्रतिशत धानबालीमा असर पुगेको छ भने सबैभन्दा थोरै पर्सा जिल्लामा २ प्रतिशत मात्र धानबाली प्रभावित भएको छ । यस्तै सिरहामा १५ प्रतिशत, धनुषामा ८ प्रतिशत, महोत्तरीमा ७ प्रतिशत, सर्लाहीमा १६ प्रतिशत, रौतहटमा ८ प्रतिशत र बारामा ९ प्रतिशत धानबाली प्रभावित भएको छ ।

प्रदेश २ मा धानखेती हुने कुल ४ लाख ३ हजार १ सय ६४ हेक्टर जमिनमध्ये ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ । कृषि शाखाका बाली अधिकृत मनिष कुमार पालका अनुसार धानसँगै तरकारी र फलफूल बालीमासमेत क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका बाली अधिकृत प्रदीपकुमार यादवका अनुसार यस वर्ष प्रदेश २ का जिल्लामा ५८ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो। समयमै पानी परेको तथा मलखादको व्यवस्था पनि भएकोले यस वर्ष सरदर प्रतिहेक्टर २ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको थियो । तर हावाहुरी र वर्षाबाट ४ हजार ६ सय ८० हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।

कृषिविद् काशीकान्त झाका अनुसार धानबालीसँगै वार्षिक कृषिचक्रसमेत प्रभावित हुने भएकोले अन्नबाली थप प्रभावित हुनसक्छ । ‘कात्तिकसम्म मसुरो, आलु, केराउ, मटर, चना , तोरी, सरिसव लगायत बाली लगाउनुपर्ने हो । कात्तिकदेखि मंसिरसम्म गहुँ लगाइसक्नु पर्छ । त्यतिवेलासम्म खेतमा अत्याधीक चिस्यान हुन्छ ।स्वाभाविक रुपमा ती बाली लगाउन ढिला हुन्छ । ढिलो बाली लगाउँदा रोगव्याधि लाग्ने सम्भावना अधिक हुन्छ र उत्पादन घट्छ,’ कृषिविद् काशीकान्त झा भन्छन् ।

कात्तिक १ र २ गते आएको अविरल वर्षाका कारण धनुषाका अधिकांश धानबाली डुवानमा परेको छ । वर्षासँगै चलेको तिब्र हावाको कारण वासमती, मंसिरमा पाक्ने कतरनी लगायत अग्लो जातका धान पानीमा झरेका छन् । बाला तयारी भइसकेका यस्ता जातका धानको उत्पादनमा २५ प्रतिशतसम्म कमी आउने किसानहरुको आकलन छ । छिटो तयार हुने सोना मंसुली, मंसुली आदि जातका धानहरुको उत्पादनमा तुलनात्मक रुपमा थोरै क्षति भएको किसानहरु बताउँछन् ।

गत साता प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले भने प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षा र हावाबाट कृषि बालीमा परेको असरप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । पछिल्लो समय प्रदेश सरकारले किसानलाई राहत प्याकेज घोषणा गर्ने तयारी गरेकोसमेत बताइएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?