बढ्दै स्क्रब टाइफसका बिरामी

शंकर आचार्य

पर्सा — जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दो छ । अस्पताल तथा क्लिनिकहरुमा पनि यसका बिरामी आउन थालेका छन् ।

बढ्दै स्क्रब टाइफसका बिरामी

नारायणी अस्पतालका चिकित्सक फिजिसियन डा. जेपी जैसवालले सातामा १० देखि १२ जनासम्म स्क्रब टाइफसका बिरामी आफ्नो सम्पर्कमा आइरहेको बताए । ‘पर्सा जिल्लाबाट मात्र नभई छिमेकी बारा, रौतहट र सर्लाही सम्मबाट बिरामी आइरहेका छन्,’ उनले भने, ‘गत साता सम्पर्कमा आएका ५ बिरामीमध्ये २/२ सर्लाही र रौतहटका र १ वीरगन्जका थिए, अस्पताल र क्लिनिक दुवैमा गरी बिरामी सम्पर्कमा आइरहेका छन् ।’ वर्षायाम पछि पानी जमेर यो रोग सार्ने भुसुना बढेर पनि रोगीको संख्या बढेको हुन सक्ने उनले बताए ।

तराई अस्पतालका चिकित्सक डा. अतिन्द्र मिश्रले दसैंअघि अस्पताल र क्लिनिकमा समेत गरी यसका रोगी बढी आएको बताए । विशेषगरी पर्साको पोखरिया नगरपालिका क्षेत्रबाट बिरामीहरु आफ्नो सम्पर्कमा बढी आएको उनले बताए ।

नारायणी अस्पतालका अर्का चिकित्सक एवम् फिजिसियन डा. उदयनारायण सिंहले साताको ३/४ जनासम्म स्क्रम टाइफसका बिरामी आफ्नो सम्पर्कमा आएको बताए । बिरामीहरुमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांशपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला गरी रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको उनले बताए ।

प्रयोगशालामा बिरामीको रगत परीक्षण पछि यो रोगको पहिचान हुने उनले बताए । यसको उपचार सस्तो भएपनि समयमा उपचार नपाउँदा बिरामीको मृत्यु समेत हुन सक्छ ।‘डक्सिसाइक्लिन नामक पुरानो र अत्यन्त सस्तो एन्टिबायोटिक औषधि चलाउँदा यसका बिरामी निको हुन्छन्,’ उनले भने, ‘तर समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ ।’

प्रकाशित : कार्तिक ७, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?