३ वर्षमा बनिसक्नुपर्ने पुल ६ वर्षमा पनि अधुरै- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वर्षमा बनिसक्नुपर्ने पुल ६ वर्षमा पनि अधुरै

योजना कार्यालयले ठेकेदार कम्पनीलाई सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन भन्दै अन्यथा कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
भूषण यादव

वीरगन्ज — वीरगन्ज–ठोरी हुलाकी राजमार्गअन्तर्गत तिलावे खोलाको पुल निर्धारित समयमै निर्माण नहुँदा पर्साका बासिन्दाले सास्ती खेप्दै आएका छन् । सदरमुकाम वीरगन्जलाई ग्रामीण भेगसँग जोड्ने एक मात्र सडकको नयाँ पुल नबनेकै कारण बिहान र साँझको समयमा घण्टौँ ट्राफिक जाम हुने गरेको छ ।

वीरगन्ज–ठोरी हुलाकी राजमार्गअन्तर्गतको तिलावे खोलाको निर्माणाधीन पुल । ३ वर्षमा बन्नुपर्ने पुल ६ वर्षमा पनि अधुरै छ । तस्बिर : भूषण यादव/कान्तिपुर

वीरगन्जका उद्योग, व्यापारिक प्रतिष्ठान र भौतिक पूर्वाधार निर्माणलगायत कार्यमा ग्रामीण भेगबाट दैनिक हजारौँको संख्यामा सर्वसाधारण आउने गरेका छन् । यसले गर्दा जीर्ण भइसकेको साँघुरो पुुलमा जाम लाग्छ । ‘एक लेनको पुलमा सवारी जाम लाग्दा ३/४ घण्टा अड्कनुपर्छ, ब्याक गर्ने ठाउँ पनि हुँदैन,’ स्थानीय राकेश यादव भन्छन्, ‘नयाँ पुल नबन्दा धेरै सास्ती छ ।’

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले पहिलो कार्यादेशअनुसार तिलावे खोलाको पुल २०७५ जेठ २४ सम्ममा निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्नुपर्ने जनाएको छ ।

पटकपटक थपिएको ठेक्काको पछिल्लो म्याद २०७८ भदौ ६ मा सकिएको छ । तर, हालसम्मको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनादेखि पुल निर्माणको काम ठप्प छ । योजना कार्यालयका इन्जिनियर दुर्गा मण्डलका अनुसार सन्तोषजनक कार्यप्रगति नदेखिएकाले ठेक्का तोड्ने विषयमा कात्तिक १ गते सार्वजनिक सूचनासमेत प्रकाशित गरिएको छ । सूचनामा ठेकेदार कम्पनीलाई सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिँदै अन्यथा कारबाही अघि बढाइने जनाइएको छ ।

पुल निर्माणको ठेक्का पप्पु र लुम्बिनीले संयुक्त रूपमा सकार गरे पनि सुरुमा वीरगन्जकै पप्पु कन्सट्रक्सनले निर्माणकार्य अगाडि बढाएको थियो । ‘पछिल्लो समय लुम्बिनी बिल्डर्सले निर्माण कार्य गर्दैआएको थियो,’ इन्जिनियर मण्डलले भने, ‘विगत ६ महिनादेखि लुम्बिनी पनि साइटमा देखिएको छैन, उक्त पुल जिल्लाकै मेरुदण्ड हो । सात दिनभित्र कस्तो जवाफ दिन्छ, त्यसका आधारमा कार्यालय अगाडि बढ्नेछ ।’ उनका अनुसार म्याद थपका लागि गत असोज २१ भित्र निर्माण व्यवसायीले सम्पूर्ण कागजात बुझाउनुपर्थ्यो तर कुनै चासो देखाएका छैनन् ।

जानकारका अनुसार ‘लो–बिड’ मा ठेक्का सकार गर्ने र समयमै काम नगर्ने प्रवृत्ति हाबी छ । कतिपय निर्माण व्यवसायीले ‘मोबिलाइजेसन’ खर्च लिएर घरजग्गामा लगानी गर्ने गरेका छन् । ठेक्का पूरा नगर्नेलाई नियामक निकायले कारबाही गर्न नसक्दा एउटै कन्स्ट्रक्सनले ठेक्का पाइरहेका छन् ।


प्रकाशित : कार्तिक ५, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे त्यसको प्रतिरक्षामा उभिने बताएका छन् । राष्ट्रपति बाइडेनले ताइवानबारे अमेरिकी नीतिभन्दा अलग टिप्पणी गरेका हुन् । ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले के गर्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

तस्बिर : रोयटर्स

उनले भने, ‘हो हामी यसमा प्रतिबद्ध छौं ।’ तर त्यसको केही समयपछि ह्वाइट हाउसका प्रवक्ताले भने अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा बाइडेनको अभिव्यक्तिले ताइवान नीतिमा परिवर्तन नहुने स्पष्ट पारेका थिए ।

ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।

अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ । बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन् । ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन ।’

‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए ।

ताइवानका बारेमा जान्नैपर्ने केही कुरा

  • चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
  • चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिएका थिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा रहेको थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए ।
  • पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगेका थिए । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।
  • ताइवानको आफ्नै संविधान रहेको छ । ताइवानमा प्रजातान्त्रिक तरिकाबाट नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक रहेका छन् ।
  • ताइवानलाई थोरै मुलुकले मात्रै स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन भने बनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×