कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिर्सिया बन्दरगाह र आईसीपी जोड्न जग्गा अधिग्रहण : ५३ जग्गाधनीले बुझे डेढ अर्ब

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीबीचको जग्गा अधिग्रहण थालेको सरकारले अहिलेसम्म स्थानीयलाई डेढ अर्ब रुपैयाँ मुआब्जा वितरण गरेको छ । ५३ जग्गाधनीले १ अर्ब ५० करोड रुपैयाँ बुझेका हुन् । 

सिर्सिया बन्दरगाह र आईसीपी जोड्न जग्गा अधिग्रहण : ५३ जग्गाधनीले बुझे डेढ अर्ब

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म १७ बिघा जग्गाको मुआब्जा वितरण भएको छ । अब करिब ३ सय किसानले झन्डै ४ अर्ब रुपैयाँ मुआब्जा लिन बाँकी छ । ‘यसको फाइल अर्थ मन्त्रालय पुगेको र दशैंपछि रकम निकासा भई आउने जानकारी मैले पाएको छु,’ उनले भने ।

स्थानीयले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा लिइरहेका छन् । वीरगन्ज महानगरपालिका–२५ मा पर्ने सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीबीचको जग्गा अधिग्रहण प्रक्रिया सरकारले करिब ५ वर्षअघि सुरु गरेको हो । सरकारको २०७३ पुस १७ को निर्णयबाट जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको थियो ।

सुक्खा बन्दरगाह र आईसीपीबीचमा २ सय ९७ जग्गाधनीको करिब १ हजार ४ सय कित्ता जग्गा छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार रुपैयाँ र सबैभन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ छ ।

५ वर्षअघि स्थानीयको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियाका लागि भन्दै रोक्का गरिएको थियो । करिब डेढ दशकदेखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह र करिब चार वर्षदेखि सञ्चालनमा रहेको एकीकृत सुरक्षा जाँच चौकीको बीचमा खल्वाटोला गाउँ र स्थानीयको खेत पर्छ । यो टोलको जग्गा अधिग्रहण गरे दुवै संरचना एकअर्कासँग जोडिनेछन् । भविष्यमा दुवै संरचनाका लागि ठाउँ साँघुरो भएर पूर्ण उपयोगमा ल्याउन समस्या हुने भन्दै सरकारले जग्गा अधिग्रहण गर्ने योजना बनाएको हो ।

प्रकाशित : कार्तिक ४, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?